धमाधम भर्ना कार्यक्रम स्थगित गर्दै विद्यालय, सरकारलाई नैतिक दबाब

काठमाडौं/२ बैशाख – शिक्षकहरूसँग गरिएको सहमति सम्बोधन गरेर विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने भन्दै देश भरका शिक्षकहरू काठमाडौँ केन्द्रीत सडक आन्दान भईरहेका बेला आन्दोलनलाई समर्थन गर्दै विभिन्न सामुदायिक विद्यालयहरूले नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम स्थगित गरेका छन् ।


चैत २० गतेदेखि गरिएको आन्दोलन आज १४ औँ दिनसम्म आउँदा पनि सरकारले माग सम्बोधन नगरी कुनै सुनुवाइ नगरेको भन्दै सरकारलाई दबाब दिन उनिहरू भर्ना कार्यक्रम नै स्थगित गरेर आन्दोलनमा उत्रिएका हुन् ।


सामुदायिक विद्यालयमा धेरै विद्यार्थी सङ्ख्या भएको रूपन्देही स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक महासङ्घको शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हडतालको विषम परिस्थितिले गर्दा पूर्व निर्धारित भर्ना लगायतका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको छ । त्यसैगरी रूपन्देहीको अर्को ठुलो विद्यालय श्री शान्ति नमुना विद्यालयले पनि शैक्षिक हडताल समाप्त नहुन्जेल सम्मका लागि सबै कार्यक्रम स्थगित गरेको छ ।


चितवनको नारायणी नमुना माध्यमिक विद्यालय, रूपन्देही कै श्री ज्ञानोदय माध्यमिक विद्यालय, बाँकेको कोहलपुरमा रहेको श्री ज्ञानज्योति माध्यमिक विद्यालय, कोहलपुर कै श्री कृष्ण माध्यमिक विद्यालय, श्री ज्ञानज्योति माध्यमिक विद्यालय बगिया र नेपालगञ्जको धम्बोझी माध्यमिक विद्यालय लगायत देशै भरका धेरै विद्यालयले आन्दोलन समाप्त नहुन्जेलका लागि भर्ना तथा नतिजा प्रकाशनका कार्यक्रम स्थगित गरेका छन् । नेपाल शिक्षक महासंघले माग पुरा नभएसम्म आन्दोलन स्थगित नहुने अडान लिँदै आएको छ ।


यता सरकारले बैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियानमा लाग्न सबै स्थानीय तह, विद्यार्थी, अभिभावक, शिक्षक र सरोकारवालाहरूलाई आग्रह गरेको छ ।