शिक्षकका माग प्रति सरकारसँग प्रस्ट हुन खोजेका हौँ, वार्ता होइन : अध्यक्ष सुवेदी

काठमाडौं/२८ चैत – विगतमा भएका मागहरू सम्बोधन गरेर तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित ९ दिनदेखि काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ सरकारसँग केही विषयमा प्रस्ट हुन छलफल गर्ने भएको छ । सहअध्यक्ष नानुमया पराजुलीको नेतृत्वमा केही शिक्षक नेताहरूसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग छलफल गर्ने भएका हुन् ।


नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजको छलफल कुनै वार्ता नभएको तर महासङ्घले राखेका मागका विषयमा सरकारको सर्त के हो ? उहाँहरूको प्रस्टता के हो ? र कतिपय विषय मन्त्रीपरिषद्बाट पनि निर्णय गर्न मिल्ने छन्, त्यो किन गरिएन भन्ने विषयमा प्रस्ट हुनका लागि मन्त्रालयसँग बस्न लागेको बताए । उनले सरकारको प्रस्टता पछि मात्रै वार्ता हुन सक्ने जानकारी दिए ।


उनले भने ‘वार्ता टोली गठन नै गरेका छैनौँ । हामी जिम्मेवार छैनौँ भन्ने जुन हल्ला छ हामी पूर्ण जिम्मेवार छौँ भनेर सरकारसँग प्रस्टता हुन खोजिएको हो । हाम्रा माग प्रति सरकारको धारणा के हो ? उहाँहरूको प्रस्टता के हो ? त्यसबारे प्रस्टता हुनका लागि आज सहअध्यक्ष नानुमया पराजुलीको नेतृत्वमा केही शिक्षक साथीहरू बस्नु हुन्छ ।’