काठमाडौं/२८ चैत – नेपाल शिक्षक महासङ्घका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच आज साँझ ५ बजे प्रारम्भिक छलफल हुने भएको छ । नेपाल शिक्षक महासङ्घलाई नै सम्बोधन गरेर मन्त्रालयले पत्र पठाएपछि उपाध्यक्ष नानुमया पराजुलीको नेतृत्वमा छलफल हुने भएको छ ।
नेपाल शिक्षक महासङ्घले वार्ता भन्दा पनि आफूहरूका मागका विषयमा प्रस्ट पार्न र सरकारको तयारी बारे बुझ्न छलफलमा बस्न लागिएको जनाएको छ । महासंघले मन्त्रालय स्तरबाट गर्नुपर्ने निर्णयहरू पनि केही रहेको र शिक्षा ऐन ल्याउने बारे सरकारले अहिलेसम्म गरेको प्रगति र माग सम्बोधन गर्ने तयारीका बारेमा बुझिने जानकारी दिएको छ । विभिन्न सञ्चार माध्यमले वार्ता हुँदै भनेर समाचार प्रकाशन गरेको बारे प्रस्ट पार्दै वार्ता नभई प्रारम्भिक छलफल रहेको र प्रस्ट हुनका लागि आफूहरूका प्रतिनिधि छलफलमा बस्न लागेको जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पनि वार्ता भन्दा पनि कुन कुन मागलाई तत्काल सम्बोधन गर्न सकिन्छ, कुन मागलाई शिक्षा ऐन मार्फत सम्बोधन गर्ने र छिटो ऐन ल्याउने विषयमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारे महासङ्घ र मन्त्रालयबिच छुट्टयएर जानका लागि छलफल गर्न लागिएको जानकारी दिइन । उनले क्षिकहरूले शिक्षा ऐन ल्याउनुपर्छ भन्ने विषयमा दिएको दबाब सकारात्मक रूपमा हेरेको संकेत गर्दै शिक्षकहरूका माग सम्बोधन गर्न सरकार तयार रहेको जानकारी दिइन ।
शिक्षकहरूसँग सरकारले गरेका सहमति सम्बोधन गरेर शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २० चैतदेखि देशभरका शिक्षकहरूले सडक आन्दोलन गर्दै आएका छन् ।



