शिक्षक आन्दोलन : फोहोर नगरि आन्दोलन गरिएको भन्दै बालेनले दिए धन्यवाद

काठमाडौं/२० चैत – शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेको भन्दै काठमाडौँ उपमहानगरपालिकाका प्रमुख बालेन शाहले धन्यवाद व्यक्त गरेका छन् । आन्दोलन फोहोर नगरि, केही नभत्काइ गरिएको भन्दै धन्यवाद व्यक्त गरेका हुन् ।


उनले सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको उल्लेख गर्दै जरिवाना खोजेको नभई चेतना खोजिएको बताएका छन् । यही शिक्षा आफ्ना विद्यार्थीहरूलाई पनि दिनुपर्ने र विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिन आग्रह गरेका छन् ।


यस्तो छ बालेनको भनाई


प्रिय शिक्षकहरू,
तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केही नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यही शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।


हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भूमिका छ यसमा ।


कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौँ धाइरहनु नपरोस् ।