शिक्षकहरूको आन्दोलन प्रति शिक्षामन्त्रीको सम्मान

काठमाडौं/२१ चैत – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरूले गरेको आन्दोलन विद्यालय शिक्षा विधेयक छिटो आओस् भनेर ध्यान आकर्षण गर्नुभएको भन्दै त्यसलाई सम्मान गर्ने बताएकी छन् । उनले आन्दोलनको रूपमा भन्दा पनि ध्यान आकर्षणको रूपमा कार्यक्रमहरू भएको आफूले बुझेको बताएकी हुन् ।


उनले भनिन् ‘शिक्षकहरूको आन्दोलन खासगरी विधेयक छिटो आओस् भनेर उहाँहरूले ध्यान आकर्षण गर्नुभएको हो । मैले शिक्षकहरूले ध्यान आकर्षण गर्नुभएको भनेर नै बुझेको छु । किनभन्दा अब लामो समयदेखि प्रतीक्षामा रहेको यो छिटो आओस् भन्ने उहाँहरूको जुन एउटा भाव छ, त्यो भावप्रति म सम्मान गर्न चाहन्छु ।’


मन्त्री भट्टराईले छिटो विद्यालय शिक्षा ऐन ल्याउनका लागि संसदको समितिमा छलफल मै रहेकोले विधेयकमा असाध्यै धेरै दफाहरू रहेको, धेरै विषयहरू रहेको र सारेकारवालाहरू पनि धेरै रहेको बताइन । शिक्षकहरू एउटा सरोकारवाला भएको र अरू पनि धेरै सरोकारवालाहरू रहेको उनको भनाई छ ।


‘विद्यालय क्षेत्र भनेको असाध्यै विस्तार भएको छ । त्यो मात्र होइन समावेशी विषेश शिक्षा, परम्परागत शिक्षा, विद्यालय व्यवस्थापन समिति, पाठ्यक्रम, परीक्षा लगायत विविध विषयहरू शिक्षासँग जोडिन्छ । शिक्षा धेरै सरोकारवाला भएको एउटा क्षेत्र हो । जसको एकदम क्रस कटिङ इस्युहरूसँग यो बढी सम्मिलित पनि छ । त्यसकारण हामीले विद्यालय शिक्षा भनिरहँदा पनि विद्यालय शिक्षासँग मात्र सम्बन्धित छैन । आज हामीले गर्ने काम भनेको उच्च शिक्षासम्म अन्तरसम्बन्धित हुन्छ । उच्च शिक्षासम्म अन्तरसम्बन्धित हुँदा हामीले कस्तो नागरिक निर्माण गर्छौँ ? कस्तो उद्यमशील व्यक्तिहरू तयार गर्छौँ भन्ने कुरासम्म जोडिने कुरा हो’ उनले भनिन् ।


विधेयकमा वृहत् छलफल आवश्यक रहेकोले त्यो काम समितिले सकेर अहिले दफावार छलफलमा पुगिसकेको बताउँदै अब पूर्ण गतिसँग समितिले आफ्नो काम सुरु गरेको उनको भनाई छ । विधेयक एउटा प्रक्रियामा प्रवेश गरिसकेको र सबै सांसदहरू गम्भीरताका साथ लाग्नुभएकोले कसरी काममा मन्त्रालयले अझ बढी साथ दिन सक्छ र सहजीकरण गर्न सक्छ भन्ने सवालमा काम भईरहेको बताइन ।


उनले भनिन् ‘म शिक्षक महासङ्घसँग पनि केही दिन अगाडि बसेको थिएँ र मैले उहाँहरूलाई आग्रह पनि गरेको थिएँ । एउटा खालको उहाँहरुलाई आश्वस्त पनि गरेको थिएँ । ३५ दिनको समय दिएर समितिले काम सुरु गरेको छ । यतिबेलासम्म तपाईँहरू पर्खनुहोस् । त्यो कामको अहिलेको हामी दफावार छलफलमा जाँदै गर्दा धेरै कुराहरू छलफल गर्दै निष्कर्षमा समेत पुगेको अवस्था छ । यो सकारात्मक एउटा अवस्थामा प्रवेश गरेको हुँदा तपाईँहरूले केही समय धैर्यता राख्नुहोस् । हामी अगाडि बढ्छौँ । तपाईँले यो आन्दोलनको रूपमा भन्दा पनि ध्यान आकर्षणको रूपमा जुन कार्यक्रमहरू भएका छ त्यसलाई हामी सम्मान गर्छौँ । अबका दिनमा मोडालिटी बदलेर संवाद, छलफल र कसरी त्यसलाई हामीले एकदम राम्रो परिष्कृत बनाउन सक्छौँ, हाम्रो विधेयक र भोलि भोलि आउने कानुनले सबैलाई एउटा जवाफदेही बनाउने, मर्यादित बनाउने, सुव्यवस्थित गर्ने कुरा र शिक्षाको एउटा नयाँ संसार गर्ने कुरामा हामी कसरी जान सक्छौँ भन्ने विषयमा अगाडी बढ्न आवश्यक छ ।’