काठमाडौं/१९ चैत – विद्यालय शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै माघ २० गतेदेखि विभिन्न चरणमा आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासङ्घले भोलिदेखि काठमाडौँ केन्द्रीत सडक आन्दोन गर्ने भएको छ । दोस्रो चरणको अन्तिम र निर्णायक आन्दोलन भन्दै देश भरीका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरूलाई काठमाडौँमा आउन निर्देशन दिएको हो ।
महासङ्घ द्वारा आज आयोजित पत्रकार सम्मेलनमा देशभरका सबै शिक्षक–कर्मचारीको सहभागितामा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन अघि बढाइने जानकारी दिएको छ । स्थायी राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चल्ने महासङ्घको चेतावनी छ ।
ने.शि. महासङ्घ र सरकार बिच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य हो । यो उद्देश्य प्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ । यो आन्दोलन शिक्षक–कर्मचारीको पेसागत मागमुद्दा सम्बोधनसँग मात्र जोडिएको छैन । यसले गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज मुखरित गरेको छ महासङ्घले विज्ञप्तिमा भनेको छ ।
साथै महासङ्घले सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यबद्धता, सहयोग र समर्थन गरिदिन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सबै शैक्षिक सरोकार पक्षसमक्ष अपिल गरेको छ ।
२०८१ माघ २० गतेबाट आन्दोलनमा रहेको महासङ्घले पहिलो चरणको अन्तर्गत पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलन गरेको थियो भने फागुन २४ गते काठमाडौँमा जुलुस तथा विरोध सभा गरेको थियो । यसैगरी दोस्रो चरणमा फागुन २७ गतेबाट चैत्र ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना, चैत्र ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन कसेको थियो । भोलिदेखि हुने अनिश्चितकालीन शैक्षिक सडक आन्दोलनमा “काठमाडौँ जाऔँ “ अभियान चलाएको छ ।



