काठमाडौँ /१५ चैत – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा पूर्व निर्धारित समय तालिका अनुसार नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
बोर्डले बाँकी परीक्षाहरू पूर्व निर्धारित कार्यतालिका र समयमा नै सञ्चालन हुने भएकाले भोलिका मितिमा सञ्चालन हुने परीक्षाका लागि निर्धारित समयमा नै आ–आफ्नो परीक्षा केन्द्रमा गई परीक्षा दिनु हुन अनुरोध गरेको छ ।
काठमाडौँमा आज भएको राजावादी आन्दोलन हिंसात्मक भएपछि असहज परिस्थिति सिर्जना भइ जिल्ला प्रशासन कार्यालय काठमाडौँले निश्चित स्थानहरूमा निषेधाज्ञा समेत जारी गरेको हुनाले विद्यार्थी र अभिभावकहरूमा कुनै द्विविधा उत्पन्न नहोस, बाँकी परीक्षाहरूमा नआत्ति अध्ययनलाई निरन्तरता दिन र विद्यार्थीको अध्ययनका लागि सहज र निश्चिन्त वातावरण तय गरिदिनु हुन सम्पूर्ण अभिभावकसँग बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अपिल गरेका छन् ।
साथै विद्यार्थीको परीक्षालाई अत्यन्त संवेदनशीलताका साथ आत्मसात् गरी निर्बाध रूपमा परीक्षा केन्द्रसम्म गई परीक्षा दिने वातावरण सृजना गरिदिनु हुन सम्बद्ध निकाय, सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्षमा अपिल गरेका छन् ।
साधारण धारतर्फको परीक्षा १५ गते सकिएपनि प्राविधिक धार तर्फको एसईई परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ ।
हेर्नुहोस अपिल
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ का सम्बन्धमा अपिल
मिति २०८१/१२/०७ गते देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ सञ्चालन भइरहेको ब्यहोरा सबैलाई जानकारी भएकै छ । सातौँ दिनको परीक्षा आजका मिति सम्म अत्यन्तै शान्तिपूर्ण ढंगबाट सञ्चालन भइरहेको ब्यहोरा जानकारी गराउन पाउँदा अत्यन्तै खुसी लागेको छ । यस कार्यमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्नु हुने जनसमुदायप्रति आभार प्रकट गर्दछु । तथापि आज मिति २०८१/१२/१५ गतेका दिन काठमाडौँ उपत्यकामा अनपेक्षित रूपमा उत्पन्न असहज परिस्थितिका सिर्जना भइ जिल्ला प्रशासन कार्यालय काठमाडौँले निश्चित स्थानहरूमा निषेधाज्ञा समेत जारी गरेको हुनाले विद्यार्थी भाइबहिनीहरू र अभिभावकज्यूहरूमा कुनै द्विविधा उत्पन्न नहोस र अब बाँकी परीक्षाहरूमा नआत्ति अध्ययनलाई निरन्तरता दिन विद्यार्थी भाइबहिनीहरू र अध्ययनका लागि सहज र निश्चिन्त वातावरण तय गरिदिनु हुन सम्पूर्ण अभिभावकज्यूहरूलाई सादर अनुरोध गर्दछु ।
अबका बाँकी परीक्षाहरू समेत पूर्व निर्धारित कार्यतालिका र समयमा नै सञ्चालन हुने भएकाले भोलिका मितिमा सञ्चालन हुने परीक्षाका लागि निर्धारित समयमा नै आ–आफ्नो परीक्षा केन्द्रमा गई परीक्षा दिनु हुन अनुरोध गर्दछु । विद्यार्थीको परीक्षालाई अत्यन्त संवेदनशीलताका साथ आत्मसात् गरी निर्बाध रूपमा परीक्षा केन्द्रसम्म गई परीक्षा दिने वातावरण सृजना गरिदिनु हुन सम्बद्ध निकाय, सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्षमा हार्दिक अपिल गर्दछु ।
डा. महाश्रम शर्मा
अध्यक्ष



