विद्यार्थीको शैक्षिकस्तर सुधारका लागि सहकार्य

काठमाडौँ /१५ चैत – विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र काठमाडौँको बुढानीलकण्ठमा रहेको नेशनल युनाइटेड विद्यालयबिच सहकार्यका लागि सम्झौता भएको छ ।


विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिईसी मार्फत विद्यालयको आवश्यकता पहिचान, कार्ययोजना निर्माण, शैक्षणिक कार्यशाला र परामर्श, निरन्तर अनुगमन(मूल्याङ्कन तथा पृष्ठपोषण साथै र विद्यालयको शैक्षिक लेखा परीक्षण जस्ता कार्यसम्पादनार्थ विद्यालयसँग निरन्तर सहकार्य गर्ने र शिक्षकहरूको पेसागत अभिवृद्धि गर्ने उदेश्यले यो सम्झौता भएको हो ।


काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुईटेल र नेशनल युनाइटेड विद्यालयका प्रिन्सिपल शायरा हमालले सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


डा.लुईटेलले यस सहकार्यबाट शिक्षकको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१ औँ शताब्दीका सीपहरू एवम् सेवा आदानप्रदान हुने कुरा व्यक्त गरे । यसैगरी विद्यालयका प्रधानाध्यापक हमालले विश्वविद्यालयसँगको यो सहकार्यले शिक्षा आर्जनका निम्ति विद्यालयको ढोकासम्म आइपुगेका सम्पूर्ण बालबालिकाहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने तथा शिक्षक, विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने दृढ विश्वास रहेको बताए ।