लामो समयसम्म शिक्षकको वृत्तिविकास नहुँदा निराश छन् : सांसद बर्तौला

काठमाडौं/६ चैत – प्रतिनिधि सभाका सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले लामो समयसम्म शिक्षकहरूको वृत्तिविकास नहुँदा निराश हुने अवस्था रहेको बताएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षक एउटा तहको एउटा श्रेणीमा नियुक्ति भई लामो समयसम्म वृत्तिविकास नहुदा निराश हुने गरेको बताएका हुन् ।


उनले २०, २१ वर्षसम्म एउटै तह, एउटै श्रेणीमा काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै बढीमा १० वर्ष भित्रमा वृत्ति विकासको सुनिश्चितता गर्नु पर्ने बताएका छन् । निजामतीमा सँगै खरदार भएका साथी आन्तरिक फाइल बढुवाको प्रक्रियाबाट उपसचिव भईसक्दा पनि प्राथमिक तहको तृतीय श्रेणीमा नियुक्ति भएको शिक्षक सत्रै एउटै तहमा रहनु पर्ने अवस्था रहेको उनको भनाई छ ।


उनले भने ‘हिजो आज सामुदायिक विद्यालयका शिक्षकहरूलाई भेट्ने हो भने उहाँहरू त्यतिधेरै खुसी भएको हामी पाउँदैनौँ । निराश जस्तो, त्यस्तो प्रकृतिमा उहाँहरू भएको हामी पाउँछौँ, सम्माननीय सभामुख महोदय यसको कारण धेरै होलान, त्यस मध्ये एउटा कारण जस्तो २०६० सालमा स्थायी नियुक्ति हुनु भो शिक्षकहरू, मावि होला, निमावि होला, प्रावि तृतीय श्रेणीमा स्थायी नियुक्ति हुनु भो । आज २०८१ साल यती लामो २०, २१ वर्षसम्म एउटा शिक्षक एउटा तहको एउटा श्रेणीमा नियुक्ति भएको छ, तर यति लामो समयसम्म उहाँहरूको वृत्ति विकास हुने अवस्था भएको छैन । २०,२१ वर्षसम्म एउटै श्रेणीमा बसिरहने अवस्था छ । कम्तीमा पनि सरकारले बढीमा १० वर्ष भित्रमा उहाँहरूको वृत्ति विकासको सुनिश्चितता गर्ने त्यो स्वभाविक कुरा हो । निजामतीमासँगै खरदार भएका साथी आन्तरिक फाइल बढुवाको प्रक्रियाबाट उपसचिव भईसकेको छ ।’