शिक्षकको पेसागत विकासकाका लागि केयू र स्याफ्रोन पूर्व विद्यालयबिच सहकार्य

काठमाडौँ /३ चैत – गुणस्तरीय शिक्षा आजको जल्दोबल्दो आवश्यकता भएको र यसले युग बोधलाई समेट्न सक्नुपर्छ भन्ने मुख्य अभिप्रायका साथ काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र स्याफ्रोन पूर्व विद्यालय, कटुञ्जे भक्तपुरबिच सहकार्यका लापग सहमति भएको छ ।


विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिइसी)मार्फत विद्यालयको आवश्यकता पहिचान, कार्ययोजना निर्माण, शैक्षणिक कार्यशाला र परामर्श, निरन्तर अनुगमन(मूल्याङ्कन तथा पृष्ठपोषण, विद्यालयको शैक्षिक लेखा परीक्षण जस्ता कार्यसम्पादनार्थ विद्यालयसँग निरन्तर सहकार्य गर्ने र शिक्षकहरूको पेसागत अभिवृद्धि गर्ने उदेश्यले सम्झौता गरिएको हो ।


काठमाडौँ विश्वविद्यालयका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुइटेल र स्याफ्रोन पूर्व प्राथमिक विद्यालयका तर्फबाट प्रिन्सिपल साबित्रा लम्सालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


प्रा. डा.लुइटेलले यस सहकार्यबाट शिक्षकको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१ औँ शताब्दीका सीपहरू एवम् सेवा आदान प्रदान हुने कुरा व्यक्त गरे ।


विद्यालयका प्रधानाध्यापक साबित्रा लम्सालले विश्वविद्यालयसँगको सहकार्यले शिक्षा आर्जनका निम्ति विद्यालयको ढोकासम्म आइपुगेका सम्पूर्ण बालबालिकाहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने तथा शिक्षक, विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने दृढ विश्वास रहेको बताए ।


दुवै पक्षले कार्यक्रमको सफलताको लागि सम्झौता अनुसारको कार्यक्रम तोकिएको समयावधिभित्र कार्यान्वयन गर्ने र यसका लागि आवश्यक वातावरणको तयारी गर्ने कुरामा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।