शिक्षकको धर्ना : हिजो कांग्रेसकोमा र आज नेकपा एमालेकोमा

काठमाडौँ /२८ फागुन – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै फागुन २७ गतेदेखि विभिन्न दलका केन्द्रीय कार्यालयमा धर्ना दिन थालेको छ ।


सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन नगरेको र विद्यालय शिक्षा ऐन जारी गराउन नखोजेको भन्दै फागुन २४ गते काठमाडौँ केन्द्रीत विरोध सभा गरेको महासङ्घले अबका आन्दोलन कार्यक्रम अन्तर्गत चैत ५ गतेसम्म विभिन्न दलका पार्टी कार्यालयमा धर्ना दिन थालेको हो ।


नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलनका क्रममा फागुन २७ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो भने आज चैत २८ गते नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।


सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासङ्घले जनाएको छ । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले महासङ्घले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिन सुरु गरेको छ ।


यसैगरी चैत १ गते नेकपा माओवादी केन्द्रको कार्यालय, २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, चैत ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र चैत ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको पार्टी कार्यालयमा धर्ना बस्ने कार्यक्रम रहेको छ ।


त्यस्तै चैत ७ गतेदेखि १५ गतेसम्म काठमाडौँमा रिले अनशन र चैत २० गतेबाट अनिश्चितकालीन काठमाडौँ केन्द्रीत सडक आन्दोलन गर्ने महासङ्घको भनाइ छ ।