कामाडौं/२३ फागुन – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले स्याडो शिक्षकको धारणालाई प्रयोगमा ल्याइएको छ । अध्ययनरत विद्यार्थीहरूले सैद्धान्तिक शिक्षाका साथै शिक्षणमा प्रयोगात्मक अनुभव पनि पाउन भन्ने उदेश्यले यो कार्यक्रम प्रयोगमा ल्याइएको छ ।
यसै विषयमा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन अन्तर्गत अङ्ग्रेजी भाषा विभाग र माच्छापुछ्रे वल्र्ड स्कुलबिच स्याडो शिक्षण कार्यक्रम सम्बन्धी सम्झौता भएको छ । उक्त कार्यक्रमले अङ्ग्रेजी भाषा विभाग अन्तर्गत अध्ययनरत विद्यार्थीहरू माच्छापुछ्रे वल्र्ड स्कुलमा स्याडो शिक्षणमा सहभागी हुनेछन् ।
यस कार्यक्रमले अध्ययनरत विद्यार्थीहरूले सैद्धान्तिक शिक्षाका साथै शिक्षणमा प्रयोगात्मक अनुभव पनि पाउनेछन् जसले समुदायका विद्यालयहरूमा अनुभवी शिक्षक निर्माणमा सहयोग पुग्नेछ ।
अबको आवश्यकता अनुसार विश्वविद्यालय र विद्यालयको सहकार्यमा भविष्यको शिक्षक तयारी गर्नु पर्ने कुरालाई महत्व दिदैँ स्याडो शिक्षकको धारणालाई प्रयोगमा ल्याइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन प्रा. डा. बालचन्द्र लुइटेलले यस कार्यक्रमले विद्यार्थीहरूले ज्ञानका साथै सीप दुवै सँगसँगै प्राप्त गर्न सक्ने र समुदायमा अनुभवी शिक्षकको अभावलाई कमी गराउने विश्वास व्यक्त गरे ।
माच्छापुछ्रे वल्र्ड स्कुलका होम प्रसाद आचार्यले संस्थागत विद्यालयको भूमिका यसरी विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक तयार गर्नु नै अबको शिक्षण पेशालाई बलियो बनाउने आधार रहेको बताए । यसैगरी विभागका सह.प्रा. डा टिकाराम पौडेलले स्याडो शिक्षकको अवधारणाले अबको पुस्तामा शिक्षण पेशाप्रति आर्कषण बढाउन सहयोग पुग्ने कुरामा जोड्दिए ।
सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट डीन, प्रा. डा. बालचन्द्र लुइटेल र विद्यालयको तर्फबाट होम प्रसाद आचार्यले हस्ताक्षर गरेका थिए ।



