विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक आन्दोलन रोकिदैन : अध्यक्ष सुवेदी

काठमाडौँ/२३ फागुन – नेपाल शिक्षक महासङ्घ भोलिदेखि हुने आन्दोलनमा २० हजार भन्दा बढी शिक्षकहरू उतार्ने तयारी भएको जनाएको छ । विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै आन्दोलनमा उत्रिएको महासङ्घले सो कुरा बताएको हो ।


नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलनबाट शिक्षकहरू पछाडी नहट्ने र ऐन जारी गराएर छोड्ने गरी आन्दोलनको तारी भएको बताए । उनले बाहिर जिल्लाका शिक्षकहरू आउने क्रम जारी रहेको र काठमाडौँ आसपासका शिक्षकहरू भोलि हुने जुलुस सभामा विरोध सहभागी हुने जानकारी दिए ।


सुवेदीका अनुसार भोलि हुने विरोध सभापछि एसईई परीक्षा सकाएर तत्कालै अघिल्लो वर्षको जस्तो बृहत् सडक आन्दोलन गरिने र ऐन नआएसम्म सडकमै रहने बताए ।


उनले भने ‘पहिलो चरणको आन्दोलनका कार्यक्रम अनुसार भोलिको विरोध सभामा २० हजार भन्दा बढी शिक्षकहरू आउनु हुन्छ । हाम्रा विरोधका कार्यक्रमहरू रोकिदैनन् । केन्द्रमा हामीले विरोध कार्यक्रम निरनतर गर्ने छौँ । तर एसईईलाई मध्य नजर गरेर अहिले सडक आन्दोलन गर्दैनौँ । एसईईको परीक्षा सकिएपछि तत्कालै सडक आन्दोलन गर्ने छौँ । अघिल्लो वर्षको जस्तै बृहत्, सबै शिक्षकहरूको सहभागी हुनेछ । विद्यालय शिक्षा ऐन नआएसम्म सडकबाटै दबाब निरन्तर दिनेछौँ । विद्यालय ऐन आएपछि मात्रै सडक छोड्ने छौँ ।’