प्रधानमन्त्रीले शिक्षक माथि हेपाहा अभिव्यक्ति दिनु निन्दनीय : शिक्षक महासङ्घ

काठमाडौँ /२१ फागुन – नेपाल शिक्षक महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली शिक्षक समुदाय माथि असहिष्णु र अशोभनीय अभिव्यक्ति दिएको भन्दै विरोध जनाएको छ । केही दिन अगाडी सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा शिक्षक माथि अमर्यादित र हेपाहा अभिव्यक्ति दिनु निन्दनीय रहेको उल्लेख गर्दै विरोध जनाएको हो ।


साथै आगामी दिनमा नेपाली शिक्षक–कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न सम्बन्धित सबैलाई चेतावनी सहित ध्यानाकर्षण गराएको छ ।


‘नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षक समुदाय माथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देशमा गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीको भविष्यको लागि अहोरात्र खटिइरहेका शिक्षक माथि यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय कुरा हो । हामी यो अभिव्यक्तिको कडा विरोध गर्दछौँ । साथै आगामी दिनमा नेपाली शिक्षक–कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न सम्बन्धित सबैलाई चेतावनी सहित ध्यानाकर्षण गराउँछौँ ‘ विज्ञप्तिमा भनिएको छ ।