सफल विद्यालय बनाउन एक शिक्षक एक जिम्मेवारी दिनुपर्छ : शिक्षाविद् सुवेदी

काठमाडौँ /१५ फागुन – शिक्षाविद् डा. बासु प्रसाद सुवेदीले सफल विद्यालय बनाउन र शिक्षण सिकाईलाई प्रभावकारी बनाउन एकीकृत शैक्षणिक नेतृत्वको खाँचो रहेको बताएका छन् ।


विद्यालयलाई केवल प्रधानाध्यापकको नेतृत्व वा एक वा दुई व्यक्तिको नेतृत्व भन्दा पनि प्रअसँगै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू सबैको एकीकृत प्रयास भयो भने मात्रै कक्षाकोठा सुधार भएर जाने बताउँदै शिक्षण सिकाई प्रभावकारी हुने बताउका हुन् ।


हामीले नेतृत्व भन्ने बित्तिकै राजनीतिक नेतृत्वको भागलाई बढि लिने गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रलाई लिड गर्नका लागि नेतृत्व झन प्रभावकारी हुनुपर्ने र त्यसका लागि एकल प्रयास भन्दा पनि सामूहिक प्रयास हुन आवश्यक रहेको विचार व्यक्त गरेका छन् ।


खबर एजुकेशनसँगको संवादमा उनले भने “विद्यालयको कक्षाकोठाका बालबालिकाहरूलाई सही ज्ञान, सिप हस्तान्तरण गर्नका लागि अत्यन्त प्रभावकारी शैक्षणिक नेतृत्वको खाँचो छ । अहिले विद्यालयमा विशेष गरी प्रधानाध्यापकलाई हामीले नेतृत्व कर्ता भन्ने गरेका छौँ । तर नेतृत्व कर्ता केवल प्रधानाध्यापक मात्रै हुनुहुन्न, विद्यालयका अन्य शिक्षाकहरू तथा विद्यार्थीहरूले पनि शैक्षणिक नेतृत्व गर्न सक्ने क्षमता पनि हुन सक्छ । त्यसैले समग्रतामा सिक्ने कुरा के हो ? सिक्ने कुरालाई कसरी प्रभावकारी रूपमा अगाडी लैजाने भन्ने पक्षमा सहयोग गर्ने वा नेतृत्व लिने हुनुपर्छ ।”


यसका लागि शिक्षण सिकाईको भिजन, दुरदृष्टिका बारेमा प्रस्ट हुनुपर्ने बताउँदै ती कुरालाई विभिन्न स्टेकहोल्डर्सहरुसँग साझेदारी गर्नुपर्ने र साझेदारी गरिसकेपछि हरेक शिक्षण सिकाईसँग सम्बन्धीत स्टेकहोल्डर्सहरुलाई उत्प्रेरित गर्दै सशक्तीकरण गरेपछि मात्रै समूहमा नेतृत्व गर्न सक्ने अवस्थामा पुगिने सुवेदीले बताए ।


अहिलेको पाठ्यक्रम ज्ञानमा मात्रै केन्द्रीत नभएर व्यवहारिक शिक्षामा केन्द्रीत भएको उनको भनाई छ । केवल ज्ञान मात्रै नभएर जीवनोपयोगी सिपहरू हस्तान्तरण गर्नुपर्ने आजको आवश्यकतामा हामीले सिप हस्तान्तरण, संस्कार हस्तान्तरण, जीवन दिनुपर्ने सन्दर्भमा एकीकृत प्रयास हुन सक्यो भने मात्र अगाडी बढ्न सकिने बताए ।


हरेक शिक्षकलाई एक व्यक्ति एक जिम्मेवारी दिन सकियो भने सफल विद्यालय बनाउन सकिने डा. सुवेदीको तर्क छ । “शिक्षकहरूलाई कुन क्षेत्रमा रुचि छ, यदी कोही शिक्षक आइटी क्षेत्रको हुनुहुन्छ भने उहाँलाई आईटी क्षेत्रको नेतृत्व दिने, कोही शिक्षक समुदायमा काम गर्न रुचाउनु हुन्छ भने अभिभावकहरूसँगको सम्पर्क र समन्वय गर्न दिने, कोही शिक्षक अतिरिक्त क्रियाकलापमा रुची राख्नु हुन्छ भने त्यही क्षेत्रको जिम्मेवारी दिने, जोसँग जे रुचि र दक्षता छ, उहाँलाई त्यही क्षेत्रमा विभिन्न भूमिकामा राख्ने प्रयत्न गर्न सकियो भने त्यो भूमिकाले समग्रतामा विद्यालयलाई सफल बनाउन सक्छ” उनले भने ।


हेर्नुहोस भिडियोमा