काठमाडौँ /११ फागुन- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल( एनप्यब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौँमा हुने भएको छ । केन्द्रीय समितिका बहुमत सदस्यहरूको निर्णय तथा पोखरामा सम्पन्न नेशनल प्याब्सनको राष्ट्रिय प्रतिनिधि परिषद् तथा केन्द्रीय समितिको संयुक्त बैठकको निर्णय अनुसार आठौँ राष्ट्रिय महाधिवेशन गर्न लागिएको जनाएको हो ।
काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । नेशनल प्याब्सनका देशैभरीका सदस्य विद्यालय तथा विद्यालय प्रतिनिधिहरूको भावना र नीति विधि एवम् प्रजातान्त्रिक पद्धति अनुसार महाधिवेशन सम्पन्न गरिने उनको भनाई छ ।
उनले नेपालको शैक्षिक विकासमा निजी क्षेत्रले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै संस्थागत विद्यालयहरूको हकहितको संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा २१ औ शताब्दी अनुकूल समसामयिक शैक्षिक नीति, योजना एवम् कार्यक्रम निर्माण तथा कार्यान्वयनमा समेत उदाहरणीय भूमिका निर्वाह गर्दै राष्ट्रिय उदेश्य अनुरूपका जनशक्ति उत्पादनमा नेशनल प्याब्सन अनवरत रूपले क्रियाशील रहेको बताए ।
साथै नेशनल प्याब्सनको गरिमालाई उचो बनाउँदै निजि विद्यालयहरूसँग जोडिएका नीतिगत एवम् व्यवहारिक मुद्धाहरू तथा समसामयिक विषयवस्तु प्रति विशिष्ट ढंगले छलफल गरि निकास दिन यो महाधिवेशन केन्द्रित हुने जनाइएको छ ।
राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजि विद्यालय र सरकारबिच कतिपय मुद्धाहरूमा देखिएका समझदारीहरूलाई समेत निराकरण गर्दै अगाडी बढ्न यस महाधिवेशनले स्पष्ट दिशा निर्देशन गर्ने बताए ।
‘यसै सन्दर्भमा नेशनल प्याब्सनको विधानअनुसार परिच्छेद विविध ९.१ (ग) मा आधारित भएर राष्ट्रिय महाधिवेशन आयोजक समिति निर्माण गरिएको छ । यसरीनै अन्य विभिन्न उपसमितिहरू गठन गरी महाधिवेशन सम्पन्न गर्न विभिन्न पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको कुरा समेत जानकारी गराइन्छ । सदस्यता नविकरण तथा प्रमाणीकरण जस्ता कार्यहरू हाल चिलरहेको र देश भरिका विभिन्न प्रदेश जिल्ला एवम् पालिका स्तरबाटनै तत तत समितिहरू र सदस्य विद्यालयहरू लागि रहेको अवस्था छ ‘विज्ञप्तिमा भनिएको छ ।
नेशनल प्याब्सनको उदेश्य अनुसार सफल एवम् अब्बल नेतृत्व चयन गर्ने जस्तो महत्वपूर्ण कुरालाई गम्भीरतापूर्वक लिई एकताबद्ध रूपमा आठौँ राष्ट्रिय महाधिवेशनलाई सफल पार्न देशै भरीका सम्पूर्ण सदस्य विद्यालय तथा प्रतिनिधिहरूलाई एकजुट भई तोकिएको मितिमा महाधिवेशनमा सहभागी हुन न्यौपानेले आह्वान गरेका छन् ।
त्यसैगरी पछिल्लो समय नेशनल प्याब्सनमा नेतृत्वबिच भएको विवाद अदालतसम्म पुगेको बताउँदै अदालतले निरन्तरता दिन नसक्ने आदेश दिएपछि आफ्नो नेतृत्वमा अगाडि बढेको न्यौपानेले जनाए । उनले महाधिवेशन विधिसम्मत तरिकाले अगाडी बढेकोले महाधिवेशन पछि पुन यस्तै समस्या आउँछ जस्तो आफू नलागेको र महाधिवेशन पछि सबै एक भएर अगाडि बढ्ने, संगठनमा कुनै समस्या नअउने अपेक्षा रहेको बताए ।



