भक्तपुर/११ फागुन – सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । करिब ३७८ जना अभिभावकको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिमल्सिना भट्टराईले सूर्यविनायक नगरपालिकाले पनि मानवीय विकासमा जोड दिएको र त्यसमा पनि शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै मदरल्याण्ड स्कुलका अभिभावकहरूलाई स्कुलले गरेको कार्यक्रमको प्रशंसा गरीन । सबै अभिभावकले हरेक दिन बालबालिकाहरूका लागि कम्तीमा १ देखि २ घण्टा छुट्याउनु पर्ने र उनीहरूका कुरा सुन्ने र भावना बुझ्ने गर्नुपर्ने बताइन ।
उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख वक्ता उत्प्रेरक विकास देव योन्जनले अभिभावकहरूले जे गर्छन् त्यही कुरा बच्चाहरूले सजिलै सिक्ने भएकोले आफ्ना बालबालिकाहरू भविष्यमा के बनुन भन्ने सोच्नु भएको छ, त्यसका लागि अहिले बिउ रोपे पछि मलजल, गोडमेल, हेरचाह तथा सुरक्षा प्रदान गरेमा अवश्य राम्रो फल प्राप्त हुने र त्यसरी नै अभिभावकले असल अभिभावकत्व निभाए मात्र बालबालिकाहरूको भविष्य उज्ज्वल रहने बताए ।
मन्टेश्वरी एवं ईसिडी प्रशिक्षक तथा कल्पवृक्ष एडुकेशन फाउन्डेशनकी डाइरेक्टर प्रतीक्षा गौतमले मदरल्याण्ड स्कुलले शैक्षिक वर्ष २०८१ देखि प्रि स्कुलमा पूर्ण रूपमा पाठ्यपुस्तक विना सिकाई क्रियाकलाप गर्दै आएको र यसमा आफूले कन्सलटेन्टको भूमिकामा आबद्ध हुन पाएकोमा स्कुल परिवार प्रति आभार व्यक्त गर्दै आगामी वर्ष २०८२ पनि मदरल्याण्ड स्कुलसँग सहकार्य गर्ने बताइन ।
स्कुलका प्रिन्सिपल संजय खड्काले अभिभावकले बच्चालाई पढ–पढ मात्र भनेर दबाब दिने, ३–४ वर्षका कलिला बालबालिका स्कुल जान थालेपछि नै लेख्न र पढ्न सक्नु पर्ने जस्ता सोच हटाउनु पर्ने, क्षमता भन्दा बढी भारी बोकाउनु भन्दा सीप र व्यवहार सिकाउँदै ईसिडीबाट कक्षा १ का लागि तयारी गराउनु पर्ने बताए । त्यसैगरी ६ वर्ष मुनिका बालबालिकाहरूलाई बिहान ६–७ बजे देखि नै स्कुल पठाउन नहुने, अभिभावकले बिहान बेलुकीको खाना सकेसम्म परिवारसँगै खाने जसले गर्दा पारिवारिक स्नेह र महत्वले भविष्यमा आफ्ना छोराछोरीले आमाबाबुलाई साथ नछोड्ने जस्ता पक्षहरूको चर्चा गरे ।



