काठमाडौं/३० माघ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीको क्षमता पहिचानमा गुरुहरूको भूमिका रहने बताएका छन् । विद्यार्थी आफैले आफ्नो क्षमता पहिचान गर्न नसक्ने बताउँदै त्यो क्षमताको पहिचान गराईदिने गुरुहरूको कर्तव्य रहेको बताएका हुन् ।
बुधवार रेडिएन्ट रिडर्स एकेडेमी सानेपा ललितपुरको रजत जयन्ती समारोह कार्यक्रममा आफ्नो समयमा भविष्यमा के बन्ने भन्ने प्रश्न सोधिने गरिएको उल्लेख गर्दै अहिले समय बदलिएको र त्यो प्रश्न शिक्षकहरूलाई सोध्नु पर्ने समय आएको बताए । विद्यार्थी भित्रको सम्भावना के हो भनेर विद्यार्थी आफैले नबुझेको खण्डमा बुझाई दिने कर्तव्य कक्षाकोठाका गुरुको रहेको उनको भनाई थियो ।
उनले भने ‘गुरुहरूलाई मेरो आग्रह छ, सानोमा हामीलाई सोध्ने गरिन्थ्यो बाबुनानी तिमि भविष्यमा के बन्न चाहान्छौँ ? यो त्यो समयको कुरा हो । के बन्ने भन्ने प्रश्न सोधिन्थ्यो अब समय बदलियो । म के बन्न चाहन्छु भन्ने आकाङ्क्षा हुनु नहुनु एउटा कुरा हो । म भित्रको सम्भावना के हो ? भनेर म आफैले बुझिन भने मलाई बुझाई दिने कर्तव्य कक्षाकोठाका गुरुको हो । त्यो कक्षा कोठाको गुरुलाई अब प्रश्न सोधिनु पर्ने भएको छ, गुरु तपाईले पढाइरहनु भएका कक्षाकोठाका विद्यार्थी मध्ये भविष्यमा म के बन्ने सम्भावना देख्दै हुनुहुन्छ ?’
कक्षाकोठाको जीवनको सुरुवाती कक्षामा अब्बल नभएको विद्यार्थी भविष्यमा अब्बल बन्न सक्ने बताउँदै कक्षाकोठा भित्र भोलिको डाक्टरको सम्भावना छ, खेलाडीको सम्भावना छ, बिजनेसमेनको सम्भावना छ भन्ने कुरा गरुहरूले देख्ने र अभिभावकसँगको समन्वयमा तपाईको बच्चा भित्र मैले देखेको अध्ययन वा बुझाई यो लाईनको लागि सम्भावना हुन सक्छ भन्नु पर्ने बताए ।



