राजनीतिक हस्तक्षेपका कारण केयुको उपकुलपति छनोट प्रक्रिया रोचक बन्दै

काठमाडौँ /३० माघ – काठमाडौँ विश्वविद्यालयले उपकुलपति छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरिएता पनि विभिन्न कारणले गर्दा यो प्रक्रिया लम्बिएको देखिन्छ । प्रारम्भिक चरणमै धेरै बाधा उत्पन्न भए, जसले छनोट प्रक्रियालाई अझ धेरै गिजोल्ने र प्रतिस्पर्धी माथि विस्तारै राजनीतिक दलहरू हाबी हुँदै जाँदा रोचक बन्न पुगेको छ । सुरुमा उपकुलपति पदको योग्यता मापदण्डमा चिकित्सा क्षेत्रका डाक्टरहरू अटाएका थिएनन्, जसका कारण धेरै प्रश्न उठे । त्यसपछि चिकित्सा क्षेत्रका डाक्टरहरूलाई समेत प्रतिस्पर्धामा समेट्ने गरी सुधार गरेर पुन आवेदन माग गरियो । मापदण्ड सुधार भएपछि अहिले मेडिकल डाक्टरहरू र प्राध्यापकहरू दुवै समूह प्रतिस्पर्धामा छन् । यसले, छनोट प्रक्रियालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।


केयूका मेडिकल डाक्टरहरूले आवेदन दिन नपाएपछि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई कार्यविधि संशोधन गर्न निवेदन दिएका थिए । त्यसअघि, उनीहरू सर्वोच्च अदालतसम्म पुगेका थिए, तर अदालतले अन्तरिम आदेश नदिएपछि अन्ततः ओलीलाई अनुरोध गरेका थिए । कुलपति रहेको हैसियतले प्रधानमन्त्री ओलीले आफ्नो अधिकार प्रयोग गर्दै चिकित्सा क्षेत्रका उम्मेदवारहरूलाई पनि प्रतिस्पर्धामा समावेश गर्ने व्यवस्था लागु गरे ।


काठमाडौँ विश्वविद्यालय रिक्त हुन गइरहेको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले प्रारम्भिक चरणमा मूल्याङ्कन गरि २० जना उम्मेदवारहरूलाई छनोट गर्यो । अहिले समितिले उपकुलपति पदका उमेदवारहरूको सङ्क्षिप्त सूचि पनि सार्वजनिक गरिसकेको अवस्था छ ।


सङ्क्षिप्त सूचिमा १० जना उमेदवारहरू परेका छन् जसमा प्रा. डा. अच्युत वाग्ले, प्रा. डा. कन्हैया झा, प्रा. डा. जर्नादन लामिछाने, प्रा. डा. बाल चन्द्र लुइटेल, प्रा. डा. विभूति रञ्जन झा, प्रा. डा. वेदमणी दाहाल, प्रा.डा. भोला थापा, प्रा. डा. राजेन्द्र प्रसाद कोजु, प्रा. डा. श्याम नारायण लाभ, प्रा. डा. सुबोध शर्मा रहेका छन् ।


समितिले काठमाडौँ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ९ अनुसार उपकुलपति पदमा नियुक्तिका लागि आवेदन दिएका स्वीकृत दरखास्तहरुमध्येबाट ऐ. दफा ८ को उपदफा (२) खण्ड (क), (ख), (ग), (घ) (ङ), (च) र (छ) को आधारमा मूल्याङ्कन गरी देहायको वर्णानुक्रम अनुसार सङ्क्षिप्त सूचि प्रकाशन गरिएको जनाएको छ । उमेदवारहरूको सोचपत्र र रणनीतिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि फागुन २ र ३ गते लिइने समितिले जनाएको छ ।


राजनैतिक हस्तक्षेपबाट समस्याग्रस्त पार्ने काम भयो


काठमाडौँ विश्वविद्यालयका उपकुलपतिको नियुक्तिमा अनावश्यक ढिलासुस्ती भइरहेकोमा पूर्व उपकुलपतिहरूले चिन्ता व्यक्त गरेका छन् । केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नवीन प्रकाश जङ्ग शाहले विश्वविद्यालयमा राजनैतिक हस्तक्षेपबाट समस्याग्रस्त पार्ने काम भइरहेको बताउँदै चिन्ता व्यक्त गरेका हुन् ।


‘उपकुलपति नियुक्तिका लागि गठित खोज तथा सिफारिस समितिले मिति २०८१/९/१८ मा दरखास्त आह्वान गरी सूचना प्रकाशित गरेकोमा १६ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत भएको थियो । परन्तु, पुनः २०८१/१०/१८ मा दोस्रो पटक दरखास्त आह्वान गरियो र त्यसमा पनि चार जनाको दरखास्त स्वीकृत भयो । तत्पश्चात् खोज तथा सिफारिस समितिको बैठकले दुवै सूचनाबाट प्राप्त एवं स्वीकृत उम्मेदवारहरूको बिचबाट तीन जनाको नाम सिफारिस गरी पठाइसकेपछि पनि त्यस सिफारिसबाट नियुक्ति नगरी पुनर्विचारका लागि समितिमा फिर्ता पठाएपछि उच्च शिक्षामा संलग्न र चासो राख्ने सबै सशङ्कित हुनु स्वाभाविकै हो’ जारी विज्ञप्तिमा भनिएको छ ।


नेपालको उच्च शिक्षामा ठूलो योगदान पुर्‍याउँदै आएका नेपालका विश्वविद्यालयहरूमा काठमाडौँ विश्वविद्यालयको भूमिका उल्लेखनीय रहेको भन्दै विश्वविद्यालयलाई राजनैतिक हस्तक्षेपबाट समस्याग्रस्त पार्ने काम तुरुन्त बन्द गर्न आग्रह गरेका छन् । साथै उपकुलपतिको नियुक्ति अविलम्ब गर्न आह्वान गरेका छन् ।


नेपालका विश्वविद्यालयहरू मध्ये उत्कृष्ट मानिएको काठमाडौँ विश्वविद्यालयमा केही उम्मेदवारहरूले नै राजनीतिक दलका नेतालाई आफूलाई उपकुलपति बनाइदिन भन्दै गुहारेपछि विश्वविद्यालयमा राजनीतिक दल र नेता हाबी चरम भएको देखिएको । छनोट समितिलाई नै हस्तक्षेप गरेर आफ्ना मान्छेको नामा राखिदिन दलहरूले दबाब दिएको यी घटनाहरूले प्रस्ट हुन्छ । यस्तो अवस्थामा अन्य विश्वविद्यालयहरूले भोगेको दुर्गति आगामी दिनमा काठमाडौँ विश्वविद्यालयले नभोग्ला भन्न सकिन्न । यसरी नेताहरूकै भनसुनका आधारमा आएका उपकुलपति विश्वविद्यालय प्रति भन्दा दल प्रति बफादार हुने संकेत देखिन्छ ।