काठमाडौं/२८ माघ – पाठ्यक्रम विकास केन्द्रले अनिवार्य शिक्षालाई अनिवार्य सिपको रूपमा रूपान्तर गर्नका लागि छलफल अगाडी बढाएको जनाएको छ । कक्षा ६ देखि कक्षा ८ सम्मको पाठ्यक्रममा सिप र उद्यमशीलता विषय राख्नु पर्ने सरोकारवाला तथा विज्ञहरूबाट सुझाब र माग आएपछि उक्त विषय समावेशका लागि छलफल अगाडी बढाएको हो ।
अहिले भएको ३२ पाठ्यघण्टा भित्रै नै रहने गरी ४ पाठ्य घण्टाको अनिवार्य विषयका रूपमा सिप र उद्यमशीलता समावेश गर्ने बारे छलफल अगाडी बढाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठले जानकारी दिए ।
पाठ्यक्रममा रहेका ४८ वटा उदेश्य मध्ये रोजगार, स्वरोजगार उन्मुख , उत्पादनमुखी, उद्यमशील र सियुक्त नागरिक तयार गर्ने लगायतका उदेश्य पुरा गर्नका निम्ति यो विषय समावेशका लागि छलफलमा ल्याइएको उनको भनाई छ ।
साथै कक्षा ६ ८ को पाठ्यक्रममा सक्षमतामा पनि स्थानीय र आधुनिक पेशा व्यवसाय प्रविधि र श्रमप्रति सम्मान तथा व्यवहार कुशल सिपको प्रयोग हासिल गर्नुपर्ने उल्लेख भएकोले यी सबै कुरालाई सम्बोधन हुने गरी यो विषय ल्याउन छलफल गरिएको श्रेष्ठले बताए ।
“अहिले आधारभूत तहको अनिवार्य शिक्षालाई अनिवार्य सिपको रूपमा रूपान्तर गरेर कम्तीमा कक्षा ८ उत्तीर्ण गरिसकेपछि विद्यार्थीले केही न केही सिपहरू सिकेर जाने वा आफ्नो भविष्यको विषयमा सोच्न सक्ने बनाउनका लागि यसलाई समावेश गर्न खोजेका छौं । यो सँगै करियर काउन्सेलिङ गर्ने, जागिर मात्रै नभई आफ्नै पेसा व्यवसाय के गर्न सक्छु भनेर आफ्नो बारेमा आफै सोच्न सक्ने र सम्भावनाहरू देख्न सक्ने विद्यार्थी तयार गर्ने उदेश्यले यसलाई छलफलमा अगाडी ल्याएका छौँ ” उनले भने ।



