नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने विद्यालयका प्रशिक्षक विरुद्ध मुद्दा दायर

काठमाडौं/२३ माघ – अख्तियार अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विद्यालयमा कार्यरत प्रशिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । बझाङको जयपृथ्वी नगरपालिका अन्तर्गत रहेको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहोरा विरुद्ध मुद्दा गरेको हो ।


बोहोराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा नगर कार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिको लागि उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी भएको +२ तहको लब्धाङ्क पत्रको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ ।


उनलाई राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोले जनाएको छ ।