सात बुँदे सहमति पछि शिक्षक महासङ्घ र शिक्षक संगठनको विवाद टुंगियो (सात बुँदासहित)

काठमाडौँ २३ माघ नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय शिक्षक संगठनबिच सात बुँदे सहमति भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल शिक्षक महासङ्घको वर्तमान राष्ट्रिय समिति र केही जिल्ला समितिको गठन प्रक्रिया विधानअनुरूप नभएको भन्दै तत्काल महासङ्घमा नजाने निर्णय गरेको थियो ।


त्यसैगरी नेपाल शिक्षक महासङ्घको महासचिव पदमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबाट निर्णय गरेर पठाउनु पर्नेमा नपठाएपछि अहिलेसम्म महासङ्घ महासचिव बेगर अगाडि बढेको छ । गत भदौ १ गते संगठनको २३ औँ राष्ट्रिय परिषद्को बैठकले विधान विधि र पद्धति विपरीत गरिएका निर्णयहरू नसच्याएसम्म महासङ्घमा आबद्ध नहुने समेत निर्णय गरेको थियो । नेपाल शिक्षक महासङ्घका पदाधिकारी अवैधानिक तरीकाले घोषणा गरिएको र महासङ्घमा अवैधानिक क्रियाकलाप भएकोले त्यसलाई पुनर्विचार गरेर अगाडी बढ्ने सहमति गरे मात्रै महासङ्घमा आबद्ध हुने २३ औँ राष्ट्रिय परिषद्को बैठकको माग थियो ।


स्थानीय र जिल्ला तहमा २०७८ साल पछि नयाँ नियुक्त भई सदस्यता ग्रहण गरेका शिक्षकहरू अधिवेशनमा भाग लिन पाउनुपर्ने, प्राविधिक धारका शिक्षक सदस्यहरू अधिवेशनमा सहभागी गराउनु पर्ने, महासङ्घको विधान विपरीत धेरै जिल्लाहरूमा एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरिएको र यसलाई सच्याउनु पर्ने लगायतका माग संगठनले सार्वजनिक गरेको थियो ।


संगठनले वैशाख २७ गते घोषणा गरिएको नेपाल शिक्षक महासङ्घका पदाधिकारी अवैधानिक तरीकाले घोषणा गरेको भन्दै विरोध गर्दै आएको र त्यसयता महासङ्घका कुनै पनि क्रियाकलापमा सहभागी भएको छैन ।


तर नेपाल शिक्षक महासङ्घ र नेपाल राष्ट्रिय शिक्षक संगठनबिच पटक पटकको भएको छलफल गर्दै महासङ्घको दोस्रो महाधिवेशन सम्पन्न भएको १० महिना पछि सहमति भएको छ । शिक्षक संगठनले राखेका असहमतिका बुँदाहरूमा छलफल पश्चात् सहमति गर्दै महासङ्घको भूमिकालाई सशक्त बनाउन ७ बुँदे सहमति गरिएको संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।


यसबारे नेपाल शिक्षक महासङ्घको राष्ट्रिय समितिको पूर्णता सहितको घोषणा सभा आगामी फागुन ५ गते आबद्ध पेसागत संस्थाहरूको उपस्थितिमा विगतको आन्दोलनको समीक्षा सहित घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।


सहमतिका बुँदामा प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० को बारेमा साझा दृष्टिकोण बनाइएको छ । जसमा विद्यालय शिक्षालाई तिनै तहको सरकारको साझा दायित्वभित्र राखिनुपर्ने, विद्यालय भित्र कार्यरत सबै प्रकृतिका ( राहत अनुदान शिक्षक, बाविके शिक्षक, विद्यालय कर्मचारी, साविक उमावि, प्राविधिक धार शिक्षक, करार शिक्षक, सङ्घीय र प्रदेश अनुदान शिक्षक आदि) पेसाकर्मीहरूको संरक्षणका खातिर सशक्त नेतृत्व गर्ने सहमति भएको पाइएको छ ।


विधान संशोधनको विषय नेपाल शिक्षक महासङ्घको संशोधित विधान २०७६ लाई समसामयिक समयानुकूल बनाउँदै लैजान नेपाल शिक्षक महासङ्घको पहिलो राष्ट्रिय समितिको बैठकको निर्णयबाट विधान संशोधन समिति गठन गरी समयानुकूल संशोधन गर्ने सहमति गरिएको छ । यो सहमतिमा सदस्यता शुल्कमा समयानुकूल परिवर्तन गर्ने र महासङ्घको साँगाठनिक स्वरूप र निर्वाचन प्रणाली सङ्घीय भावनाअनुरूप व्यवस्थित गर्ने समेत उल्लेख रहेको स्रोतले जनाएको छ ।


नेपाल शिक्षक महासङ्घको विधानको अनुसार नेपाल शिक्षक महासङ्घ कुनै पनि राजनीतिक दलको गतिविधि र प्रभावबाट मुक्त राख्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको संसद विघटनको विरुद्धमा राजनीतिक दलहरूद्वारा सञ्चालित विरोध कार्यक्रममा नेपाल शिक्षक महासङ्घको झण्डा, व्यानर प्रयोग गरी तत्कालीन शिक्षक महासङ्घका पदाधिकारीहरू सहभागी भएकोमा तत् कमीकमजोरीहरू महसुस गर्दै आगामी दिनमा यस्ता कमजोरीहरू नदोहोराउने लिखित प्रतिबद्धता सहित महासङ्घको बैठकको निर्णय गरी जाहेर गरिने विषयलाई समेत जोडदार तरिकाले उठाउँदै सहमतिका बुँदामा समावेश गरिएको छ ।


नेपाल शिक्षक महासङ्घको दोस्रो महाधिवेशन सम्पन्न गर्नका लागि बनाइएको कार्यविधिद्वारा अधिवेशन र महाधिवेशन सम्पादन गर्ने क्रममा कमीकमजोरी भएको मनन गर्दै अबका दिनमा कमी कमजोरी नगरिने नेपाल शिक्षक महासङ्घको बैठकमा निर्णय गर्ने, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिद्वारा निर्मित अधिवेशन महाधिवेशन कार्यविधि २०८० को व्यवस्था अनुरूप भन्दै तत्कालीन शिक्षक महासङ्घका नेतृत्वबाट सार्वजनिक सामाजिक सञ्जालमा महासङ्घ आबद्ध पेसागत घटकहरूको सदस्यता सङ्ख्या र पदोसोपान जस्तो संवेदनशिल बिषय सामजिक गरिएको प्रति सो कार्य कार्यविधि २०८० अनुरूप नभएको जनाउदै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको गम्भीर असहमति रहेको सन्दर्भमा तत्कालीन कार्यकारी नेतृत्वको कमजोरी महसुस गर्दै आगामी दिनमा यस्ता कमजोरी नगर्ने सहमति भएको जनाइएको छ ।


साथै नेपाल शिक्षक महासङ्घद्वारा जारी गरिएको कार्यविधि २०८० को प्रावधानलाई आधार दिइ पद सोपान मार्फत घोषणा भएका र नेपाल राष्ट्रिय शिक्षक संगठनले असहमति जारी राखेका जिल्लाहरूको वैधताको लागि महासङ्घको वार्ता टोलीसँग सहमति भएको मितिले एक महिनाभित्र नेपाल राष्ट्रिय शिक्षक संगठनसहितको सहमतिमा जिल्ला समिति घोषणा गर्न विवादित जिल्लाहरूलाई निर्देशन दिने र निर्देशन अनुसार सहमतिपूर्वक घोषणा गर्न नसकेमा विधान सम्मत गठन गर्ने निर्णय गरेको छ ।


विवादित जिल्लाहरूमा गण्डकी प्रदेशका गोरखा, कास्की, नवलपुर, कोशी प्रदेशका झापा, सोलुखुम्बु , मधेस प्रदेशका धनुषा, महोत्तरी, रौतहट बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशका दाङ, अर्घाखाँची, गुल्मी, सुदूरपश्चिम प्रदेशको कैलाली रहेका छन् ।


नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले असहमति जनाई सहभागी नभएको नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन सन्दर्भमा यसअघि सम्पन्न भएको महाधिवेशन कार्यक्रमलाई अपनत्व लिदै प्रतिवेदनहरू माथि छलफल समेत गर्ने गरी माथि भएका सहमतिको अधारमा निश्चित मिति तय गरी नेपाल शिक्षक महासङ्घमा सहभागी घटकका प्रतिनिधिहरू सहभागी भएको राष्ट्रिय भेला मार्फत नेपाल राष्ट्रिय शिक्षक संगठनको सहभागीता सहितको पूर्ण घोषणा सभा गर्ने सहमति गरिएको स्रोतले जनाएको छ ।