फागुनको अन्तिमसम्म शिक्षा विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभापति

काठमाडौँ /२२ पुस – शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक हिउँदे अधिवेशनमा पेस गर्ने तयारी रहेको बताएका छन् । कुनै ठुलै परिस्थिति नआए फागुनको अन्तिमसम्म शिक्षा विधेयक हिउँदे अधिवेशनमा पेस गर्ने तयारी रहेको बताएका हुन् ।


खबर एजुकेशनसँगको अन्तर्वार्तामा उनले अबको हिउँदे अधिवेशनमा शिक्षा विधेयक जान्छ भन्नेमा आफूले प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै कुनै ठुलै किसिमको परिस्थिति नआए र अहिले कै अवस्थामा अगाडी बढे हिउँदे अधिवेशनमा पेस हुने बताए ।


यो विधेयक हिउँदे अधिवेशनमा कहिले जान्छ ? तयारी कस्तो छ ? भन्ने प्रश्नमा उनले भने “मैले हिउँदे अधिवेशनमा पेस गर्छु । सकेसम्म हिउँदे अधिवेशनमा पेस गर्न हामीले तयारी गर्छौ । प्रयास गरिरहेका छौँ । जान्छ भन्ने कुरामा मैले प्रतिबद्धता गरिराखेको छु, कुनै ठुलै किसिमको परिस्थिति आएन भने अहिले कै अवस्थामा गइयो भने हिउँदे अधिवेशनमा पेस हुन्छ । माघमा त भन्न सकिएन फागुनको अन्तिमसम्ममा पेस गर्छौ भन्ने मलाई लागेको छ ।”


सभापति थापाले विधेयक बारे प्रदेश स्तरमा छलफल गरी सुझाब सङ्कलन गरिरहेको बताउँदै सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशमा छलफल सकिएको र बाँकी बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा पुस २४ गतेपछि छलफल गरिने बताए ।


यसैगरी शिक्षकहरूसँग सरकारले गरेका सहमति, संस्थागत विद्यालयको गुठीको विषय, अस्थायी शिक्षक र शिक्षक स्थानीय तहमा रहने की सङ्घीय सरकार मातहतमा रहने भन्ने विषय समितिमा पेचिलो रूपमा उठिरहेको जानकारी दिए । विधेयक कस्तो बनाउने भन्ने विषयमा करिब करिब मानसिकता तयार भइसकेको र दफावार छलफलमा गइसकेपछि धेरै समय नलाग्ने बताए ।


विधेयकमा प्रत्येक दलका शिक्षक संगठनहरू निर्माण गर्न वञ्चित गरिने, कुनै पनि शिक्षकले दलीय सदस्यता लियो भने कार्बाही तोकिने व्यवस्था हुने, शिक्षण पेसामा आकर्षण बढाउन सेवा सुविधा बढाउने देखि जवाफदेहीता बनाउने व्यवस्था गरिने, अहिलेको पाठ्यक्रम पढाउन सक्ने शिक्षक छ की छैन भनेर पुन परीक्षा लिने व्यवस्था गरिने लगायतका विषयमा छलफल अगाडी बढिरहेको र यस सवालमा अहिले नै निर्णय नभएपनि कसैले असहमति नदेखाएको उनको भनाई छ ।


साथै अहिले स्थानीय तह र शिक्षक बिचको विषय चुनौतीका रूपमा आएको भन्दै उनले भने “हामी एउटै फोरमा छलफलमा छौँ, शिक्षक भन्छ स्थानीय तहमा बस्दैनौँ, स्थानीय तह भन्छन् हाम्रो संवैधानिक अधिकार हो, हाम्रो अधिकार खोस्न पाईदैन । संविधानका कुरा गर्ने हो भने सरकारले शिक्षकहरूसँग सम्झौता गरिसकेको छ, सरकारले यसको के जिम्मा लिने ? त्यसकारण यो कुरालाई कसरी समन्वयात्मक तरिकाले अगाडी बढ्ने भन्ने विषयमा हामीले दलीय सहमति गर्छौ । यसरी संविधानलाई पनि बाझ्न नपर्ने र शिक्षकहरूलाई पनि मर्का नपर्ने गरेर दलीय सहमति सहित अगाडी बढ्नुपर्ने अवस्था छ ।”