पाठ्यक्रममा योग विषय समावेश गर्नु पर्नेमा जोड्

काठमाडौं/२२ पुस – “स्वास्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” नाराका साथ राष्ट्रिय योग दिवस, २०८१ मनाउने निर्णय भएको छ । पुस २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको राष्ट्रिय योग दिवस–२०८१ को मूल समारोह समितिको बैठकको अध्यक्षता गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मानिसको जीवन, उद्यमशीलता विकास र चेतना विकासको लागि योगले एकीकृत रूपमा काम गर्ने भएको हुँदा शिक्षा र विज्ञानको क्षेत्रमा योगलाई जोड्न अपरिहार्य रहेको बताइन ।


अहिले मानिसमा आत्मबल र जीवनप्रति चरम निराशा बढेको परिप्रेक्ष्यमा योग भनेको जीवन हो, जुन सानो बालबालिका देखि नै प्रयोग गर्नुपर्छ जसबाट मानिसलाई सानोदेखि नै आत्मबल, आत्मविश्वास र आफ्नो जीवनप्रति आशा जगाउन समेत योगको अभ्यासबाट सहयोग पुग्ने धारणा व्यक्त गरिन ।


यसैगरी मानिस चेतनशील प्राणी रहेकोले चेतनशीलतालाई कायम राख पुनर्ताजगी गर्न समेत योगको महत्व हुने भएकोले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रम र अभ्यासहरूमा योगलाई जोडेर जानेतर्फ मन्त्रालयले थप गृहकार्य गर्ने र यौगिक एवं आध्यात्मिक क्षेत्रमा सक्रिय संघ संस्थाहरूसँग सहकार्य गरेर आगामी दिनमा मन्त्रालय अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरिन ।


बैठकमा मन्त्रालयका सचिव, सहसचिवहरू, विभागीय प्रमुखहरू तथा योग ध्यानको क्षेत्रमा क्रियाशील ६० भन्दा बढी यौगिक एवं आध्यात्मिक संस्थाहरूको सहभागिता रहेको थियो । हरेक विद्यालय र बालबालिकाहरूमा योगको अभ्यास हुनुपर्ने, विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा नै उमेर सुहाउँदो व्यावहारिक योगको विषय समावेश गरी अभ्यासलाई बढाउनुपर्ने अन्य सहभागीहरूले जोड् दिएका थिए ।


नेपाल सरकार (मन्त्रिपरिषद) को २०७२ साउन १८ गतेको निर्णयबाट प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा मनाउने निर्णय गरिएको थियो ।