काठमाडौं/२४ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालको पुस्तकालय विकासमा केसर शमशेरको भूमिका अतुलनीय रहेको बताएकी छन् । केसरमहलमा आयोजित केसर शमशेरको १३३औँ स्मृति दिवस समारोहका अवसरमा बोल्दै केसर शमशेर सानैबाट पुस्तक, पत्रपत्रिका तथा चित्रहरूको सौखिन रहनु भएको, बेलायत भ्रमणमा जाँदा त्यहाँको पुस्तकालय तथा सङ्ग्रहालयबाट प्रभावित भई नेपालमा आएर १९०९ मा पुस्तकालय स्थापना गर्नु भएको र विभिन्न स्थानमा छरिएर रहेका हस्तलिखित ग्रन्थहरूलाई केसर पुस्तकालयका एकीकृत गरेको बताइन ।
केसर शमशेर पुस्तकालय स्थापना गर्ने व्यक्ति मात्र नभई अन्य सामाजिक कार्यहरूमा समेत अग्रसर हुनुभएको भन्दै मन्त्री भट्टराईले केसर शमसेरले तत्कालीन गोग्राहा बजारलाई ऐतिहासिक तथ्य र अध्ययनका आधारमा विराटनगर नाम राख्ने, नेपालका महत्वपूर्ण मूर्ति र हस्तलिखित ग्रन्थ लगायतका र ऐतिहासिक र पुरातात्त्विक सामग्रीहरूको नेपालमा नै संरक्षण र संवर्धन हुनु पर्छ भनेर छाउनी सङ्ग्रहालयको स्थापना गर्ने जस्ता काममा योगदान दिएको भन्दै प्रशंसा गरीन ।
आफ्नो जीवनकालमा आर्जन गरेको सम्पत्ति आम नागरिकले उपयोग गर्न सकुन भनेर राज्यलाई दिनु उनको महानता र कल्याणकारी भावना रहेको भन्दै मन्त्री भट्टराईले उनको जस्तो सामाजिक र लोक कल्याणकारी भावना हरेक नागरिकमा हुनुपर्नेमा जोड दिइन । उक्त कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको थियो भने वरिष्ठ अधिवक्ता लोकभक्त राणाले केसर शमशेरका योगदानका बारेमा चर्चा गरेका थिए ।



