काठमाडौं/१५ पुस – पाठ्यक्रम विकास केन्द्रले यही पुस २८ गतेदेखि ‘शिक्षकसँग पाठ्यक्रम विकास केन्द्र’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहको पाठ्यक्रमको जानकरी दिने तथा शिक्षकहरुका जिज्ञासा र प्रश्नहरुको सम्बोधन गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअनुसार शिक्षकसँग पाठ्यक्रम विकास केन्द्र कार्यक्रम सञ्चालनका लागि सरोकारवालहरुसँग जिज्ञासा पठाउने केन्द्रले आग्रह गरेको छ । जिज्ञासा [email protected] इमेलमा पुस २३ गतेभित्र पठाउनु पर्नेछ । साथै सङ्कलित जिज्ञासा सम्बोधनको विषय, समय र Zoom Link सम्बन्धी विवरण केन्द्रको वेबसाइट तथा जिज्ञासाकर्ताको इमेलमार्फत जानकारी गराइने केन्द्रले जनाएको छ ।
यसैगरी जिज्ञासा पठाउनका लागि पाठ्यक्रममा आधारित सिकाइ, पाठ्यपुस्तकको कार्यान्वयन, विद्यार्थीमैत्री व्यवहार र सिकाइ विधिको प्रयोग, सन्दर्भ तथा स्रोत सामग्रीको प्रयोग, विद्यार्थी मूल्याङ्कनः सिकाइका लागि मूल्याङ्कन, आन्तरिक र बाह्य मूल्याङ्कन, प्रयोगात्मक र परियोजना कार्य, नवीनतम शिक्षण सिकाइका उपागम, विधि तथा तौरतरिका, मातृभाषिक तथा बहुभाषिक सिकाइका विविध पक्ष र आवश्यकताअनुसार प्राविधिक सहायता लगायतका विषयक्षेत्र तोकिएको छ ।
जिज्ञासा पठाउने व्यक्तिले आफ्नो नाम, विद्यालयको नाम र ठेगाना, सम्पर्क नम्बर, इमेल ठेगाना, अध्यापन गर्ने तह र विषय, शिक्षण अनुभव र जिज्ञासा पठाउनुपर्ने छ ।



