प्राविधिक शिक्षालयले स्वीकार गरेको जिम्मेवारी पूर्ण लागु गर्नुपर्छ : शिक्षामन्त्री

चितवन/२१ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आज चितवनको श्री नारायणी बहुप्राविधिक शिक्षालयको भ्रमण गरी त्यहाँ सञ्चालन भइरहेको औद्योगिक प्रशिक्षार्थी र पूर्व सिकाइको मान्यता विधिबाट सीप प्रमाणित भएका पेसाकर्मीहरूसँग अन्तरक्रिया गरैकी छन् ।


भट्टराईले सीप सिकेर पेशा गर्नुपर्ने र उक्त पेशालाई उदाहरणीय बनाएर अरूलाई पनि आफूले जानेका सीपको प्रमाणीकरण गर्न उत्साहित गराउनुपर्ने बताइन । अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई नीतिगत व्यवस्था गरी लागु गर्न पहल गर्ने बताएकी थिइन । साथै प्राविधिक शिक्षालयहरूले आफ्नो जिम्मेवारीमा स्पष्ट हुनुपर्ने र स्वीकार गरेको जिम्मेवारी पूर्णत लागु गर्नुपर्ने कुरा व्यक्त गरीन ।


अन्तरक्रियामा सहभागी पेसाकर्मीहरूले सीप परीक्षण गरी प्रमाणपत्र हासिल गरेपछि आफ्नो गौरव महसुस भएको, आत्मविश्वास बढेको, काम पाउन सजिलो भएको, समाजमा आत्मसम्मान बढेको कुरा बताएका थिए ।


पेसाकर्मीहरूले सीप परीक्षण गर्ने कामलाई चुस्त र व्यवस्थित बनाइदिनु पर्ने, प्रचार प्रसार व्यापक गरी धेरै भन्दा धेरैलाई समावेश गर्नुपर्ने, स्थानीय तहमा पञ्जीकरण हुने नीतिगत व्यवस्था गरिदिनु पर्ने सुझाव दिएका छन् ।