काठमाडौं/२१ मंसिर – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकको तलब भत्ता मासिक रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ । शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
केही स्थानीय तहले शिक्षकको तलब मासिक रूपमा उपलब्ध नगराएको गुनासो आएपछि शिक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मासिक रकम उपलब्ध गराउने व्यवस्था गर्न पत्र पठाएको थियो ।
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च. नं. १३८ मिति २०८१/०८/१७ को पत्र मार्फत शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भै आएको हुँदा पत्रको छायाँप्रति यसै साथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको ब्यहोरा आदेशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।