जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबिच संवाद सम्मेलन हुँदै

काठमाडौं/२५ कार्तिक – सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल र आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभाको संयुक्त आयोजनामा ‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबिच संवाद’ विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी मंसिर ८ र ९ गते काठमाडौंको कागेश्वरी मनोहरा–९, काँडाघारीस्थित अक्षरा स्कुलमा सम्मेलन हुने भएको हो ।


सम्मेलनमा नेपाल, भारत, अमेरिकालगायत विभिन्न देशका २० जनाभन्दा बढी प्रतिष्ठित आध्यात्मिक चिन्तक, अभियन्ता, गुरुहरू र वैज्ञानिकले आ–आफ्नो मन्तव्य राख्नुका साथै कार्यपत्र पेस गर्ने कार्यक्रम रहेको छ ।


सम्मेलनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष सहयोग रहने छ भने करिब ३०० सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ । सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. मोहन खरेलले वैज्ञानिक प्रमाण र खोज–अनुसन्धानका आधारमा वेदवेदान्त वा अध्यात्मलाई विज्ञानसँग जोडेर हेर्नु औचित्यपूर्ण हुने र अध्यात्मप्रति नयाँ पिँढीलाई आकर्षित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको बताए ।


दुई दिनसम्म चल्ने सो सम्मेलनमा सन्त महाराज डा. भक्ति निष्काम विजानन मुनि, संहिताशास्त्री अर्जुन बास्तोला, वरिष्ठ न्युरोलोजिस्ट डा. जेपी अग्रवाल, प्राध्यापक डा. मोहनप्रसाद खरेल, प्राध्यापक डा. रामेश्वर अधिकारी, सहप्राध्यापक डा. गोपीचन्द्र काफ्ले, सहप्राध्यापक डा. निर्मलमणि अधिकारी, सहप्राध्यापक डा. चित्रबहादुर बानियाँ, प्राध्यापक डा. रजनी मल्ल, उपप्राध्यापक डा. दीपेन्द्र पराजुली, सहप्राध्यापक डा. गोविन्दशरण उपाध्याय, प्राज्ञ भरत गिरी, डा.भुवनेश्वरी राव र श्रीपद कृष्ण केशव प्रभु र डा. सुमंगलादेवी दासीद्वारा कार्यपत्र पेस गर्ने छन् ।