काठमाडौं/१७ असोज – नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षाबाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन र पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत सरकारलाई ध्यानाकर्षण गरेको छ । सरकार प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी र शिक्षकको समस्या केन्द्रीत हुनुपर्ने विभागको भनाई छ ।
काँग्रेस शिक्षा विभागको सचिवालय बानेश्वरमा बसेको बैठकले वर्षाका कारण भएका भौतिक तथा मानवीय क्षतिका प्रति संवेदनशील बनेर आवश्यक कार्य थाल्न पनि सरकारसँग अनुरोध गरेको छ । शिक्षा विभागको तर्फबाट केही शैक्षिक सामाग्रीहरू प्रदान गरी शिक्षण सिकाई क्रियाकलापलाई सहजीकरण गर्न सहयोग गर्ने निर्णय समेत विभागले जनाएको छ ।
साथै, शिक्षा नीति निर्माण गर्न देशभरका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ पालिका र १ सय ६५ निर्वाचन क्षेत्रबाट सुझाव समेट्ने निर्णय गरेको छ । यस अघिको निवर्तमान विभागले तयार गरेको डकुमेन्टलाई समेत आधार बनाएर थप विमर्श चलाउने काँग्रेसको निर्णयमा छ ।
आज बसेको बैठकले संसदमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालाहरूसँगको थप छलफल गरेर विधेयक पास गर्नुपर्ने र शिक्षा भित्रका विद्यमान रहेका समस्या समाधान गर्न संसद र राजनीतिक दलहरूसँग माग गरेको छ ।
संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य र शिक्षाको प्रावधान अक्षरशः लागु हुनुपर्ने र जीवन उपयोगी (व्यवहारिक) शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने विषय कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय गरेको संयोजक नैनसिंह महरले बताए।



