काठमाडौँ/ ४ साउन – शान्ति शिक्षा सञ्जाल नेपाल र काठमाडौँ विश्वविद्यालय शिक्षा विभाग (नेपालको लागि युनेस्को अध्यक्षता) बीच सम्झौता भएको छ । शान्ति शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यशाला सञ्चालन गर्न ३ क्रेडिट (जम्मा ४८ घण्टा) समयको कार्यक्रम सञ्चालन गर्ने उदेश्यले सम्झौता भएको छ ।
यस प्रशिक्षण कार्यक्रमको मुख्य उद्देश्य बौद्धिकता तथा व्यवहारमा सकारात्मक रूपान्तरण गरेर शान्तिको संस्कृतिलाई बढावा दिनु रहेको छ । प्रशिक्षणले सहभागीलाई विद्यालय तथा समाजमा शान्ति निर्माण र द्वन्द्व समाधान सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नेछ । शान्ति शिक्षाको सैद्धान्तिक अवधारणा, सांस्कृतिक सचेतना र विविधता, द्वन्द्व विश्लेषण र रूपान्तरण, मानव अधिकार तथा बालअधिकार, सञ्चार र प्रविधि, शान्ति निर्माणका सीप र रणनीति र पाठ्यक्रम विकास र समावेशी शिक्षण पद्धति जस्ता मुख्य विषय वस्तु समेटिने गरि प्रशिक्षण गरिने सम्झौतामा उल्लेख छ ।
कार्यशालाले सहभागीहरूलाई प्रायोगिक गतिविधिहरू र समूहगत कार्यहरूको माध्यमबाट शान्ति निर्माणका विभिन्न अभ्यासहरू सिकाउने छ । यसले उनीहरूको शान्ति शिक्षा सम्बन्धी ज्ञान, सीप, अभ्यास र दृष्टिकोणलाई व्यापक पार्दै उनीहरूलाई समाजमा शान्ति र सहअस्तित्व प्रवर्धन गर्न सक्षम बनाउने छ ।
सम्झौतामा दुवै पक्षले प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न आवश्यक स्रोत साधन उपलब्ध गराउने र यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । यो साझेदारीले नेपालको शैक्षिक क्षेत्रमा शान्ति शिक्षा र प्रशिक्षणको नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
सम्झौतामा, काठमाडौँ विश्वविद्यालय शिक्षा विभागका प्रमुख (नेपालको लागि युनेस्को अध्यक्षता)का तर्फबाट प्रोफेसर डा. बालचन्द्र लुइँटेल र शान्ति शिक्षा सञ्जाल नेपालका तर्फबाट बिएन शर्मा (अध्यक्ष) ले संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।



