स्टिम प्रशिक्षक तयारीका लागि सम्झौता

काठमाडौँ /३० असार – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एडुकेशन र एस्ट्रोनोभा फाउन्डेसन नेपालबिच स्टिम शिक्षण सिकाइ पेडागोजीमा आधारित शिक्षक विकास तथा स्टिम प्रशिक्षक तयारीका लागि सम्झौता भएको छ ।


फाउन्डेसनले मकवानपुर लगायत वरपरका क्षेत्रमा गर्न लागेको विद्यालय स्टिम कार्यक्रम, पुस्तकरहित शुक्रवार र विद्यालय अघि वा पछिको समयमा विद्यार्थीहरूमा सिर्जनशीलता, अनुसन्धानात्मक एवं वैज्ञानिक सोच, संस्कृतिको विकास, जापानी वा सिङ्गापुरियन मोडलका आफ्ठर स्कुल प्रोग्राम कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति तयार पार्ने, दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले विश्वविद्यालयसँग सम्झौता भएको हो ।


फाउन्डेसनका अध्यक्ष नेत्र प्रसाद बाँस्तोला, प्रबन्धक निर्देशक इन्जिनियर आयुष बस्नेत, ई.साहिल श्रेष्ठ, ई.मन्दिल बिष्ट र विश्वविद्यालयका स्कुल अफ एजुकेशनका डिन डा. बालचन्द्र लुइँटेल, सिपिइसी संयोजक पार्वती ढुङ्गाना, स्टिम विभाग प्रमुख विनोद प्रसाद पन्त र शिक्षक प्रशिक्षक मदन रिजालको उपस्थितमा स्टिम शिक्षक प्रशिक्षण कार्यक्रम संञ्चालन र कार्यान्वयन गर्न सम्झौतामा हस्ताक्षर गरिएको हो ।


प्रा.डा. लुइँटेलले यस सहकार्यबाट स्टिम शिक्षाद्वारा शिक्षकको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१ औँ शताब्दीका सीपहरू एवं सेवा आदानप्रदान हुने कुरा व्यक्त गरे ।


सम्झौता पत्र हस्ताक्षर पश्चातको छलफलमा संस्थाका अध्यक्ष नेत्र प्रसाद बाँस्तोलाले अब काठमाडौँ विश्वविद्यालयले सुरुवात चरणमा ३० जना युवाहरूलाई ३ क्रेडिटको कोर्स स्टिम शिक्षण विधिमा प्रशिक्षकको रूपमा तयार बनाई रोजगारीमा जोड्ने लक्ष्य रहेको जानकारी दिए ।