त्रिविको शैक्षिक क्यालेन्डर लागु, कार्यान्वयन नगर्नेलाई कारबाही

काठमाडौँ /३० असार – त्रिभुवन विश्वविद्यालयले वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद् स्थायी समितिको असार २५ गते बसेको बैठकले निर्णय गर्दै शैक्षिक सत्र २०८१ देखि लागु हुने गरी कार्यान्वयनका लागि शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।


साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभाग, विभाग, कार्यक्रम लगायतलाई शैक्षिक क्यालेन्डर लागु गर्न निर्देशन दिएको छ । उक्त वार्षिक शैक्षिक क्यालेन्डरको नियमित अनुगमनका लागि एक समिति गठन गरी नियमित अनुगमन हुने शिक्षाध्यक्ष प्रा।डा।खड्ग के।सीले बताएका छन् ।


समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन नहुनु र राजनीति हस्तक्षेपका कारण विश्वविद्यालय प्रति विद्यार्थीको अविश्वास बढ्दै जाँदा विश्वविद्यालयनै ओरालो लाग्दै गएको अनुमान गर्न सकिन्छ । यसै सवालमा विश्वविद्यालयको शैक्षिक सुधारका लागि क्यालेन्डर बनाएर नियमित रूपमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न अनिवार्य छ ।


लामो समयपछि विश्वविद्यालयले शैक्षिक क्यालेन्डर सार्वजनिक गर्दै स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीको भर्ना फाराम वितरणदेखि परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मको मिति किटान गरिएको छ । यसले विद्यार्थीको पढाई सकिने समय र नतिजा आउने समयको अन्योलतालाई हटाएको छ ।


साथै वार्षिक शैक्षिक क्यालेन्डरको नियमित अनुगमन गर्न एक समिति गठन गरीने र अनुगमनका क्रममा शैक्षिक क्यालेन्डर लागु नगरेको पाइएको कारबाही समेत हुने शिक्षाध्यक्ष प्रा।डा।खड्ग के।सीले बताए । क्यालेन्डर कार्यान्वयन गर्न नसक्ने निकायका जिम्मेवार व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत विश्वविद्यालयले दिएको छ ।


विश्वविद्यालयले सार्वजनिक गरेको क्यालेन्डर अनुसार स्नातक तहको वार्षिक कार्यक्रम अन्तर्गत २०८१ साउन दोस्रो हप्तादेखि भदौको तेस्रो हप्तासम्म आवेदन खुला हुने छ । भदौको चौथो हप्तादेखि कक्षा सञ्चालन हुने, चैतको चौथो हप्तामा परीक्षा आवेदन खुलाउने र २०८२ जेठको पहिलो हप्तामा कक्षा सकेर जेठको अन्तिम हप्तामा परीक्षा सञ्चालन हुने क्यालेन्डरमा उल्लेख छ ।


प्रवेश परीक्षा लिने, असोजदेखि कात्तिकको बीचमा विद्यार्थी भर्ना गरेर मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन हुने क्यालेन्डरमा उल्लेख छ । माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ । २०८२ वैशाख चौथो हप्तामा पहिलो सेमेस्टरको नतिजा प्रकाशित गर्ने उल्लेख छ । यसैगरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षको पठनपाठन, परीक्षा र नतिजा हुने उल्लेख गरेको छ । विश्वविद्यालयले वार्षिक रूपमा पठनपाठन हुने र सेमेस्टरमा पठनपाठन हुनेको शैक्षिक क्यालेन्डर छुट्टाछुट्टै सार्वजनिक गरेको छ ।


त्यस्तै स्नातकोत्तर तहको प्रथम सेमेस्टरका लागि २०८१ को मङ्सिरमा आवेदन फारम खुल्ने, पुसमा प्रवेश परीक्षा तथा भर्ना हुने र भने माघ पहिलो हप्तादेखि कक्षा सञ्चालन हुने क्यालेन्डरमा उल्लेख गरेको छ ।