त्रिभुवन विश्वविद्यालयमा स्मृति कोष निर्माण

काठमाडौं/२९ असार – त्रिभुवन विश्वविद्यालय माइक्रोवायोलोजी केन्द्रीय विभागका प्रा.डा प्रकाश घिमिरेले स्वर्गीय आमा रुद्र कुमारी घिमिरेको को सम्झनामा “रुद्र कुमारी घिमिरे स्मृति कोष” निर्माण गरी दश लाख पाँच हजार स्मृति कोषलाई हस्तान्तरण गरेका छन् ।


उक्त स्मृति कोषबाट त्रिवि अन्तर्गत सञ्चालित माइक्रोवायोलोजी विषयको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने १ जना विद्यार्थीलाई ‘‘रुद्रकुमारी घिमिरे स्मृति स्वर्ण पदक तथा प्रमाणपत्र” तथा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सञ्चालित माइक्रोवायोलोजी विषयको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने १ जना विद्यार्थीलाई “टिका बल्लभ डिल कुमारी घिमिरे स्मृति स्वर्ण पदक तथा प्रमाणपत्र” प्रदान गरिने छ ।


असार २८ गते त्रि.वि रजिस्ट्रारको कार्यालय कीर्तिपुरमा आयोजित “रुद्र कुमारी घिमिरे स्मृति कोष” स्थापना गर्ने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार प्रा.डा केदार प्रसाद रिजाल र अक्षयकोष निर्माणकर्ता माइक्रोवायोलोजी केन्द्रीय विभागमा कार्यरत प्रा.डा प्रकाश घिमिरेले दानदातव्य कोषमा योगदान तथा कोष परिचालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन ।


कार्यक्रमलाई सम्बोधन गर्दै रजिस्ट्रार प्रा.डा केदारप्रसाद रिजालले त्रिविका सम्पूर्ण शिक्षक÷कर्मचारीहरूलाई आफ्नो मातृसंस्थामा योगदान गर्न प्रेरित गर्नुपर्ने बताए । भविष्यमा आफूले पनि अक्षयकोष निर्माण गर्ने सोचमा रहेको उल्लेख गर्दै उनले देशको सम्पत्ति बाहिर जानबाट रोक्नुपर्ने विचार व्यक्त गरे ।


स्मृति कोषका निर्माता माइक्रोवायोलोजी केन्द्रीय विभागका प्रा.डा प्रकाश घिमिरेले स्वर्गीय ममतामयी आमाको सम्झनामा एक बर्षको तलब २९ वर्ष देखि कार्यरत आफ्नो मातृसंस्थालाई दिएको बताए । उनले स्वर्गीय हजुरआमा डिल कुमारी घिमिरेको पुण्यतिथिका दिन पारेर स्मृति कोष निर्माण गरिएको जानकारी गराएका थिए ।

कार्यक्रममा योजना निर्देशनालयका निर्देशक डा. प्रेम बहादुर थापा, आर्थिक प्रशासन महाशाखाका प्रमुख कुमार प्रसाद हुमागाई, माइक्रोवायोलोजी केन्द्रीय विभागका विभागीय प्रमुख सह प्रा.डा कोमलराज रिजाल लगायतको उपस्थिति रहेको थियो ।