काठमाडौँ /७ जेठ – शैक्षिक परामर्श संस्थाहरूलाई शुद्धिकरण गर्नका लागि सरकारले अनुगमनको सुरुवात गरेको शिक्षा मन्त्रालय, नेपाल प्रहरी र गृह मन्त्रालयका प्रतिनिधिले जानकारी दिएका छन् ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घले आज राजधानीमा आयोजना गरेको शैक्षिक परामर्श क्षेत्रको नीति तथा नियमन सम्बन्धी सरकार र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएका हुन् ।
गृह मन्त्रालयका उपसचिव गणेश गैरेले परामर्श संस्थाले दिएको परामर्शले धेरैलाई राम्रो भएपनि कसैबाट कसैको परिवार तहसनहस हुन्छ भने यसबाट कसैलाई उम्किन नमिल्ने धारणा व्यक्त गरे । उनले कानुनन बमोजिम व्यवसायी सञ्चालन गर्न स्वतन्त्रता रहेको बताउँदै कसैले अपराध गरे क्षम्य नहुने बताए । कानुन बमोजिम सञ्चालनमा रहेका संस्थाहरूलाई निर्बाध रूपमा व्यवसाय गर्न पाउने प्रतिबद्धता व्यक्त गर्दै सरकार आगामी दिनमा कठोर हुने र अनुगमन गर्दा गल्ती भेटिए नछोड्ने तथा प्रचलित कानुनन अनुसार अगाडी बढ्ने प्रस्ट पारे ।
यसैगरी शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्त राज कोइरालाले शैक्षिक परामर्श संगठनहरुको अनुरोधमै अनुगमन गरिएको बताउँदै कानुनले तोकेबमोजिम नविकरण गरेर व्यवसाय गरेका आतंकित हुनुनपर्ने बताए । उनले अहिले काठमाडौँ उपत्यकामा मात्रै अनुगमन गरिएकोमा अब देशैभरी अभियान सञ्चालन गरी शुद्धिकरण गर्न लागिनेमा जोड् दिए ।
कोइरालाले कसैले अपराध गरे स्वीकृतिले मात्रै नरोक्ने चेतावनी दिँदै आफै सचेत हुनुपर्ने र शैक्षिक परामर्श संस्थाले तेस्रो एजेन्सी खोज्दा विद्यार्थी ठगिएकोले त्यस्ता संस्थासँग सहकार्य नगर्न आग्रह गरे ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष कुमार खडकाले भ्रमपूर्ण सूचना प्रवाह गर्ने, सरकारी छाप, कागजात निर्माण गरी प्रयोग गरेको, नक्कली कागजात बनाएको, दर्ता विना सञ्चालन गरिएको र विद्यार्थी ठगिएको जस्ता गुनासो आएपछि अनुगमन गरिएको प्रस्ट पारे । उनले पहिलो चरणमा दर्ता नगरेका शैक्षिक परामर्श संस्थाहरूको अनुगमन गरिएको र त्यसपछि अरू चरणमा पनि अनुगमन गरिने जानकारी दिए ।
नेपाल अभिभावक महासङ्घका निवर्तमान अध्यक्ष सुप्रभात भण्डारीले राम्रो परामर्श नपाएका विद्यार्थीले दुःख पाएको गुनासो आउने गरेको बताउँदै परामर्श दिने संस्थाहरूको नियत राम्रो हुनुपर्नेमा जोड् दिए । यस क्षेत्रमा जे गरेपनि हुन्छ भन्ने भाष्य निर्माण भएकाले आगामी दिनमा सुधारका लागि सबै लाग्नुपर्ने उनको सुझाब छ ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र बरालले सबै शैक्षिक परामर्श संस्थाहरूले खराब काम नगरेको उल्लेख गर्दै ठगी शब्द प्रयोग नगर्न आग्रह गरे । विद्यार्थी उच्च शिक्षा अध्ययनमा गएर आफ्नै कारणले फेल भएपछि शैक्षिक परामर्श संस्थाहरूलाई दोष लगाउने गरेको उनको भनाई छ । बरालले स्वीकृत दिएका बाहेक अरू संस्थाले सञ्चालन गर्न नमिल्ने बताउँदै एउटाले विद्यार्थीलाई ठग्ने तर शैक्षिक परामर्श संस्थाहरूलाई ठग भन्ने गरिएकोले यो शब्द प्रयोग गर्न नहुनेमा जोड् दिए ।
यसैगरी बन्दै गरेको नियमावलीमा धरौटीको आवश्यक नरहेको उनको भनाई छ । सेवामूलक व्यवसाय रहेकोले धरौटीबिना आफ्नो पेसा गर्न पाउनुपर्ने बताए । यदी सरकारले शैक्षिक परामर्श व्यवसायीका कुरा नसुनी धरौटी ल्याए विद्यार्थी, अभिभावक सहित सबै शैक्षिक परामर्श व्यवसायी सडकमा उत्रने चेतावनी दिए ।



