कक्षा ११ को पठनपाठन आसर १ गतेदेखि सञ्चालन गर्न निर्देशन

काठमाडौँ/६ जेठ – कक्षा ११ को पठनपाठन आसर १ गतेदेखि सञ्चालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले निर्देशन दिएको छ । शिक्षामन्त्रालयको निर्देशन अनुसार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई कक्षा ११ को पठनपाठन आसर १ गतेदेखि सञ्चालन गर्न सूचना जारी गरेको हो ।


“शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौको च.न. ६४१ मिति २०८३/०२/०४ को पत्रानुसार शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन वि.स. २०८३ असार १ गतेबाट गर्ने गरी सूचना प्रवाह एवं पत्राचार गर्न भनी लेखी आएकाले सोही अनुसार हुन निर्णयानुसार अनुरोध छ ” सूचनामा भनिएको छ ।


साथै सबै स्थानीय तहलाई आवश्यक समन्वय तथा सहजीकरण गरीदिनु र निर्णय कार्यन्वयन गर्न सबै विद्यालयलाई आग्रह गरिएको छ ।