चितवन/२५ असार
एउटा सरुवाको खोस्टोले,
मै हु भन्ने शैक्षिक अगुवाको
पसल बन्द भएकोछ रे
मोबाइलले पनि लामो श्वास फेरेको छ रे
सामाजिक संजालमा पनि काम भएको रे,
चिया पसलमा पनि गुनासो छ रे
लैन !
साउनको झरीमा पनि खडेरी परेछ
खोला नालाहरू पनि ठप्प जस्तै रे,
चितवनका धुर्बे हात्ती र बर्दियाको पाटे बाघ
जंगलमै रमाइलो छ रे
अनुहार निबुवा निचोरे झैँ
सरमको बिर्काे बन्द भएछ ।
परन्तु–
आज,
कोरोना समयमा सुकेका
नाङ्ले पसल
फेरी सलबलाएका छन् रे
पत्रु खाजा बेच्नलाई
जनमानस धमिलो पार्न
एकै वर्ष चार विद्यालय धाउन
तालिम र भत्ता पचाउन
माला, सम्मान र धाक लाउन
मेचका मालिकसँग
सेल्फी खिच्दै
कोठा कोठा चाहार्दै
निमुखा शिक्षकहरूलाई तर्साउदै
बकम्फुसे अर्ती उपदेश छाँट्दै
मेलो कटाउने ठाउँ खोज्दै
कर्कश स्वरले
नाङ्गो स्वाङ पार्दै
दिन कटाउनु छ
डेढ अक्कलीहरूलाई
गास,बास,कपास जिन्दाबाद
नारा स्तरीय शिक्षा ।
प्राप्ति होला र
गुणस्तरीय शिक्षा खोई ?
धरोधर्म तम्तयार देखिएनन् कोही ?
रसिद उर्फ पेशा
कठै मानसिक दशा
तिमी पनि शिक्षक
म पनि शिक्षक
आउ एउटा प्रण गरौँ
लखेटै अँध्यारो
भित्र्याउ उज्यालो
विडम्बना
बिरालोको घाँटीमा
घण्टी कसले बाँध्ने ?
राजन कार्की, शिक्षक, नारायणी नमुना मा.वि. भरतपुर,चितवन ।



