काठमाठौं/२६ असार – झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र पेश गर्ने शिक्षक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार अनुसन्धान आयोगले धनुषाको श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रहमदेव यादव उपर झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी मुद्दा दायर गरेको हो ।
धनुषा, गणेशमान चारथान नरपालिका वडा नं. १० बरमझिया स्कुलमा वि.सं. २०६३ सालदेखि नि.मा.वि. राहत शिक्षक ब्रहमदेव यादवले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति भई तलव भत्ता खाइरहेको पाइएको आयोगले जनाएको छ ।
ब्रहमदेव यादवले शिक्षक सेवा आयोगवाट जारी भएको भनिएको झुट्टा तथा नक्कली स्थायी अध्यापन अनुमति पत्र साविक श्री निम्न माध्यमिक विद्यालय हाल श्री माध्यमिक विद्यालय बरमझियामा पेश गरी नि.मा.वि. राहत कोटामा नियुक्ती लिई हालसम्म कार्यरत रहेका छन् ।
उनलाई ओहदा, लाभ र सुविधाको गलत प्रयोग गरी भ्रष्टाचार गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
त्यसैगरी कास्कीको दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेल उपर झुट्टा विबरण पेश गरी शिक्षक नियुक्ति लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
कास्कीको पोखरा म.न.पा. वडा नं. २२ पुम्दी भुम्दी, तारेभिर स्थित दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको आयोगको आरोप छ ।
शिक्षक बोधराज पौडेलले अस्थायी एवं स्थायी दुवै नियुक्तिको समयमा पेश गरेको शैक्षिक प्रमाणमाको जन्म मिति २०१३।०१।२७ उल्लेख भएकोमा मिति २०४९।०८।१९ बाट तत्कालीन दुर्गा प्रा.वि. हाल कायम दुर्गा आधारभूत विद्यालयमा अस्थायी शिक्षक नियुक्ति हुँदा जन्म मिति २०१३।०१।२७ गते उल्लेख भएको नेपाली नागरिकताको प्रमाण पत्र पेश गरेको एवं शिक्षक सेवा आयोगमा दरखास्त दिई मिति २०६०।१२।२६ मा स्थायी नियुक्ति हुँदा आफ्नो शैक्षिक प्रमाण पत्र अस्थायी नियुक्ति हुँदाकै पेश गरेको तर शैक्षिक प्रमाण पत्रमा उल्लेख भएको उमेर भन्दा ७ वर्ष उमेर कम रहेको जन्म मिति २०२०।०१।२७ गते उल्लेख छ ।
साथै बंशजको आधारमा प्राप्त गरेको नागरिकता पेश गरी सोही अनुसारकै व्यक्तिगत विवरण भरी मिति २०८०।०१।२६ गतेसम्म प्रा.वि. तृतीय श्रेणीको स्थायी शिक्षकको रुपमा अध्यापन गरी २०७९ चैत्र मसान्तसम्मको तलव, भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुबिधा समेत प्राप्त गरेको पाइएपछि उनि विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।