काठमाडौँ/२ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षक उपर विशेष अदालतमा मुद्दा दायर गरिएको छ । डडेलधुरा, देवल उच्च माध्यमिक विद्यालय दिव्यपुरका तत्कालीन प्रा.वि. शिक्षक मदन राज पन्त उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको हो ।
प्रा.वि. द्वितीय तहमा कार्यरत शिक्षक मदन राज पन्तको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी, युपी, भारतबाट जारी भएको पूर्वमध्यमा तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्ति भई लाभ लिएको आयोगले जनाएको छ ।
पन्तलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरिले घिमिरेले जानकारी दिए ।



