शिक्षा मन्त्रीलाई पत्र : प्रतिवेदनको पाना नं. ८४ को बुँदा नं. १४ कार्यान्वयन होस

काठमाडौँ /१ असार – माननीय शिक्षा मन्त्रीज्यु, नमस्कार
राज्यले नचाहाँदा नचाहादैँ पनि लामो समय सम्म सिंहदरबारको दराजको कुनै कुनामा धुलोले पुरिएर बसेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न जुन हिम्मत र आट गर्न भयो अब यसको कार्यान्वयन पक्षमा विशेष जोड दिनु हुनेछ भन्ने विषयमा हामी पूर्णरूपमा विश्वस्त छौँ ।


उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको पाना नं ८४ को बुँदा नं १४ मा हरेक विद्यालयमा कम्तीमा एक जना कर्मचारी रहने व्यवस्था गर्ने विद्यार्थी सङ्ख्या र विद्यालयको प्रकृति अनुसार आवश्यक सङ्ख्यामा प्रशासनिक काम गर्न कार्यालय सहायक, लेखापाल कार्यालय सहयोगी खेलकुद तथा क्रियाकलाप शिक्षक रहने व्यवस्था गर्ने, विद्यालय कर्मचारीका लागि समान योग्यताको शिक्षक सरह दरबन्दी, तलब सुविधा सञ्चयकोष उपदान र निवृत्तिभरण सुविधा प्रदान गर्ने, लामो समय विद्यालयमा काम गरेर सेवा निवृत्ति भईसकेका स्थायी कर्मचारीलाई निवृत्तिभरण तथा अनुदानको सुविधा प्रदान गर्ने व्यवस्था छ ।


कार्यक्रम कार्यान्वयन पुस्तिका
कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भए अनुसार विद्यालय कर्मचारी व्यवस्थापन अनुदान शीर्षक अन्तर्गत प्रत्येक सामुदायिक माध्यमिक विद्यालयमा कर्मचारीको व्यवस्थापन गर्दा नेपाल सारकारले निर्धारण गरे बमोजिमको न्यूनतम पारिश्रमिकमा उल्लिखित रकममा नपुग हुने रकम थप गर्नु पर्ने छ । यसरी पारिश्रमिक निर्धारण गर्दा विद्यालय सहायक कर्मचारीहरूलाई स्थानीय तहले उल्लिखित न्यूनतम पारिश्रमिक भन्दा बढी हुने व्यवस्था मिलाउने व्यवस्था भए अनुसार अधिकांश पालिकाले बजेट छैन भनि ८००० र १३५०० मात्र तलब दिदै आएको अवस्था छ भने कतै २०००,४०००,७००० त कतै लेखापालको हकमा समान तहको शिक्षक सरह पूर्ण रूपमा तलब स्केल खुवाएको अवस्था रहेको छ ।


अहिले स्थानीय पालिकाहरूमा बजेट बन्ने क्रम रहेको छ र यसरी बजेट बन्ने क्रममा हामीले हाम्रा पालीकाहरू साथै प्रदेशमा समेत ध्यानाकर्षण गराउँदा यो हाम्रो समस्या नभई सङ्घीय सरकारको समस्या भएकाले उक्त विषयमा हामीले केही गर्न नसकिने अभिव्यक्ति दिदै हामी तपाईका यी समस्यामा गम्भीर छौँ जस्ता अभिव्यक्ति दिँदै पठाउने गरेका छन् ।


० देखि १२ कक्षा सम्म सञ्चालन भएका विद्यालयमा करिब ७०९६ लेखापाल कर्मचारी (विद्यालय सहायक) रहेकोमा समान तहको शिक्षक सरह ३४७३० x १३ = ४५१४९० x ७०९६ = ३,२०,३७,७३,००४ (करिब तीन अर्ब बिस करोड ) बजेट चाहिन्छ । हाल सङ्घीय सरकारबाट प्राप्त १३५०० x १३ x ७०९६ = १,२४,५३,४८,००० (एक अर्ब चौबिस करोड) थप गर्नुपर्ने रकम ३,२०,३७,७३,००४ – १,२४,५३,४८,००० = १,९५,८४,२५,००० (एक अर्ब पन्चानब्बे करोड) स्थानीय सरकारले दिएको ७,००० कटाउँदा ७,००० x १३ x ७०९६ = ६४,५७,३६,००० वास्तविक बजेट व्ययभार १,९५,८४,२५,००० – ६४,५७,३६,००० = १,३१,२६,८९,००० (एक अर्ब एकतिस करोड छब्बिस लाख उनन्नबबे हजार)।


यसरी विद्यालय कर्मचारीहरूलाई उनिहरूको योग्यता क्षमता अनुसार सङ्घीय सरकारले नै नीति तथा कार्यक्रम तर्जुमा गरी समानीकरणको बजेट मार्फत स्थानीय सरकारलाई नै सङ्घीय सरकारबाट परिपत्र गरी स्थानीय सरकार आफ्नो क्षेत्राधिकारबाट विमुख हुन भने पाउने छैन भनि परिपत्र गर्न नितान्त आवश्यक छ ।


राम शरण फुयाँल
(लेखापाल)
नागार्जुन माध्यमिक विद्यालय
नेपाल विद्यालय कर्मचारी परिषद् वाग्मती प्रदेश अध्यक्ष