छुटेका ८ जना विद्यार्थीलाई पनि भर्ना दिने बङ्गलादेश सरकारको निर्णय

काठमाडौँ /९ जेठ – बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको हो ।


बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो । तर, अन्तिम सूचिमा १२ जनाको मात्रै नाम आएको थियो ।


यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन । यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ’कूटनीतिक नोट’ पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीहरूमा अन्योलता छाएकोमा सो समस्या समाधान गर्न अहोरात्र खटिने सबै जनाप्रति कृतज्ञता व्यक्त गरेकी छन् । बुधवार नै सम्बन्धित विद्यार्थीहरूलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूसँग संवाद समेत गरेकी छन् ।


खुसी हुँदै मन्त्रालय पुगेका विद्यार्थीहरूलाई मन्त्री सुमना श्रेष्ठले शुभकामना दिइन । ‘नयाँ ठाउँमा नयाँ संस्कृतिमा घुलमिल हुन समय लाग्छ । आफ्नो स्वास्थ्य र मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला । मिहेनत गरेर सफल भएर स्वदेशको सेवा गर्न फर्केर आउनुहोला’ मन्त्री श्रेष्ठले भनिन् ।


‘परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठज्यू, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूतज्यू, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूतज्यू र बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु । यो विषयलाई प्रमुखताका साथ उठाउने संघीय सदनका माननीय सदस्यज्यूहरूलाई पनि धन्यवाद छ । विद्यार्थीहरूको गुनासो आएकैदिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु मन्त्री श्रेष्ठले भनिन् ।