काठमाडौँ /४ बैशाख – शिक्षाविद् तथा विज्ञहरूले शैक्षिक–प्राज्ञिक संस्थाहरू बारम्बारको अनावश्यक राजनैतिक हस्तक्षेपबाट गम्भीर रूपमा आक्रान्त हुने गरेको भन्दै सार्वजनिक रूपमा अहस्तक्षेपको संकल्प घोषणा गर्न दलहरूलाई अनुरोध गरेका छन् । आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँगको भेटमा देशका विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अध्ययन–अनुसन्धानका निम्ति स्थापित उच्चस्तरका शैक्षिक–प्राज्ञिक संस्थाहरू अनावश्यक राजनैतिक हस्तक्षेप नगर्न आग्रह गरेका हुन् ।
त्यस्ता संस्थाको नेतृत्व चयन तथा शिक्षक र कर्मचारीहरूको नियुक्ति र पदोन्नतिमा योग्यता क्षमता भन्दा पनि राजनैतिक चलखेल र भनसुनको प्रभाव झन् झन् निर्णायक हुन थालेको दुःखद अवस्था हाम्रोसामु छ । यस्ता अवाञ्छित क्रियाकलापका कारण समेत हाम्रा उच्च शैक्षिक संस्थाहरू लामो समयदेखि दिशाहीन, अकर्मण्य र नैराश्यको स्थितिबाट गुज्रीन बाध्य छन् । यस किसिमको प्रत्युत्पादक परिस्थितिले निरन्तरता पाइरहेमा; सीमित साधन र स्रोतको भरमा सञ्चालित शैक्षिक–प्राज्ञिक संस्थाहरूबाट गुणस्तरीय शिक्षा र नवीन ज्ञान–उत्पादनको अपेक्षा गर्नु स्वाभाविक र वस्तुसम्मत हुनसक्दैन मन्त्रीलाई बुझाइएको सुझाबमा भनिएको छ ।
साथै यस्तो परिस्थितिको दुष्परिणामस्वरूप युवा विद्यार्थीहरू बेरोजगार रहने वा विदेशतर्फ पलायन हुने, सिङ्गो राष्ट्र र नेपाली जनताको भाग्य एवं भविष्य समेत अन्योल र थप संकटतर्फ धकेलिने उल्लेख छ ।
लोकतान्त्रिक प्रणालीमा ’संरक्षण’को नाममा संस्थाको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि गरिने कुनै पनि प्रकारको अतिक्रमण स्वीकार्य नहुने शिक्षाविद्हरूको सुझाब छ । सार्वजनिक विश्वविद्यालय लगायत सबै प्राज्ञिक संस्थाहरूको संस्थागत स्वतन्त्रता एवं स्वायत्तताको प्रत्याभूति सुनिश्चित गर्नको लागि राजनैतिक दलहरूका साथै नेपाल सरकारबाट समेत आत्मसंयमको संकल्प जरुरी भएको र शैक्षिक–प्राज्ञिक संस्थाहरूको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ र अनावश्यक हस्तक्षेप नगर्ने संकल्प एवं प्रतिबद्धता राजनीतिक दल र तिनको नेतृत्वबाट स्पष्ट भाषामा, संयुक्त रूपमा र यथासम्भव छिट्टै सार्वजनिक रूपमा उद्घोष गर्न आग्रह गरे ।
यसै सवालमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, कर्मचारीहरू राजनीतिक दलको कुनै कार्यकारी पदमा बस्न नहुने कानुनमा प्रस्ट लेखिएको बताउँदै राजनीतिक सम्बन्धी ऐनले सदस्यता नलिनु भन्ने व्यवस्था भएको बताइन । उनले कसैले शिक्षामा दलगत राजनीति गरेको भए आफूलाई जानकारी दिन आग्रह गर्दै कारबाही गर्न प्रतिबद्धता रहेको बताइन ।
साथै विश्वविद्यालय र विद्यालय शिक्षाको सुधारका लागि योजना बनाएर अगाडी बढ्को जानकारी दिदै शिक्षाविद् तथा विज्ञहरूलाई राजनीतिक दलका नेतृत्वलाई भेट्दा शिक्षक तथा कर्मचारीहरूको राजनीतिक दलको सदस्यता नलिदिनुहुन दबाब दिन आग्रह गरिन ।





