त्रिविका दुई उप प्राध्यापकसँग स्पष्टीकरण माग

काठमाडौँ /४ बैशाख – त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले विभागमा हाजिर नहुनुे दुई उप प्राध्यापकलाई स्पष्टीकरण सोधेको छ । उप प्राध्यापक लक्ष्मी प्रसाद ओझा र जगदीश पौडेललाई स्पष्टीकरण सोधिएको हो ।


त्रिवि शिक्षाशास्त्र संकाय, शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका अंग्रेजी शिक्षा विभागका उप प्राध्यापक लक्ष्मी प्रसाद ओझा र जगदीश पौडेल क्रमशः २०७५/०४/२० गतेदेखि मिति २०८०/४ /२० गतेसम्म ५ वर्ष र मिति २०७६/०५/०१ गतेदेखि २०८० श्रावण मसान्तसम्म ४ वर्ष त्रि.वि. नियमानुसार अध्ययन बिदा लिएकोमा विदाको स्वीकृत अवधि समाप्त भई क्रमशः मिति २०८०/०४/२१ र मिति २०८०/०५/०१ देखि विभागमा हाजिर हुनु पर्नेमा नभएपछि स्पष्टीकरण सोधिएको छ ।


विश्वविद्यालयले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को परिच्छेद ९ को नियम ८२ (ख) (१) अनुसार विश्वविद्यालय सेवाबाट हटाउन सकिने जनाएको छ ।


सूचनामा भनिएको छ “शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को परिच्छेद ९ को नियम ६५ मा विदा तोकी तोकिएको बिदाको लागि तोकिएबमोजिम स्वीकृति नलिई काममा अनुपस्थित हुनु हुँदैन साथै ऐ. नियमको परिच्छेद १० को नियम ८४ (१) (६) अनुसार लगातार १० दिनसम्म बिनासूचना विभागमा अनुपस्थित रहेमा सेवाबाट हटाउन सकिनेछ भन्ने स्पष्ट प्रावधान रहेकोले उक्त अभियोगमा सोही परिच्छेदको नियम ८२ (ख) (१) अनुसार विश्वविद्यालय सेवाबाट किन नहटाउने ? सो सम्बन्धमा मिति २०८०/१२/२० को निर्णयानुसार गोरखापत्र दैनिकमा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन सूचित गरिन्छ ।”