काठमाडौँ /१६ चैत-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरेको छ । अनुगमनका लागि खटिनु पर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भन्दै रद्द गरेको हो ।
बोर्डले विज्ञप्ति जारी गर्दै अनुगमनका लागि खटिनु पर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासा प्राप्त भएकोले अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको जनाएको छ । “प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ” विज्ञप्तिमा भनिएको छ ।
अनुगमनका नाममा विभिन्न व्यक्तिहरु परीक्षा हल भित्र गएर फोटो खिच्ने, विद्यार्थीहरुको कपि हेर्ने लगायतका कार्य गरेको गुनासो आएपछि रद्द गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले खबर एजुकेशनलाई बताए । उनले आवश्यक परेमा त्यस्ता व्यक्तिहरूबाट पर्यवेक्षण मात्र गर्न लगाउन सकिने, परीक्षालाई व्यवस्थापन गर्न सहयोग गर्ने बताए ।
साथै परीक्षा केन्द्रलाई व्यवस्थित, भएरहित र शान्तिपूर्ण बनाई सहज रूपमा विद्यार्थीले परीक्षा दिन पाउने वातावरण सिर्जना गरी सहयोग गर्न अन्य सम्बन्धित सबै सरोकारवालाहरूसँग समेत बोर्डलाई आग्रह गरेका छन् ।



