इटहरी/१६ चैत – शिक्षकहरूको पेसागत वृद्धि विकासलाई ध्यानमा राखी विश्व आदर्श स्कुल, इटहरीले विद्यालयमा अध्यापनरत ८२ जना शिक्षकहरूलाई शिक्षण सिकाई बारे कार्यशाला सम्पन्न गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एडुकेशनद्वारा सञ्चालित ४८ घण्टा अवधिको निरन्तर र पेसागत शैक्षिक कार्यक्रम (सिपिइपी)मा सहभागी गराई विभिन्न अनुभवलाई सुन्ने, बुझ्ने र थप नवीनतम विधिहरू बारे कार्यशाला आयोजना गरेको हो ।
कार्यशाला अन्तर्गत शिक्षकहरूले पाठ्यक्रमको स्वरूप, विभिन्न कक्षाका अनुभवहरू, वर्तमान अवस्थामा शिक्षकको भूमिका, समावेशी शिक्षा, विभिन्न सिकाइका सिद्धान्तहरू र प्रक्रियाहरू, विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने विभिन्न विधिहरू बारे बृहत् छलफल, अध्ययन तथा अनुभवहरू हासिल गर्ने अवसर पाएका थिए ।
कक्षा कोठामा पृष्ठपोषण दिने, विभिन्न तहगत प्रश्नहरू सोध्ने र निर्माण गर्ने, पुनरावृत्ति कार्यहरू, परियोजना कार्य र शिक्षण सिकाइ क्रियाकलापलाई कलात्मक ढंगले पस्कने, विभिन्न माध्यमले कक्षा कोठामा सहकार्यको वातावरण तयार गर्ने, विभिन्न विषयलाई एकीकृत गर्ने, आन्तरिक मूल्याङ्कनलाई विभिन्न शीर्षकमा बाँडेर उचित मूल्याङ्कन गर्ने, रुब्रिक्सको नमुना तयार पार्ने, वर्तमान अवस्थामा ग्रेडिङ प्रणालीका आधारहरू सिक्ने तथा प्रयोग गर्ने लगायतका विषयमा सिकाईनुका साथै छलफल गरिएको थियो ।
शिक्षकको शिक्षण क्षमता अभिवृद्धिका लागि प्रगतिशील शिक्षक शिक्षण सिकाइ तथा प्रामाणिक मूल्याङ्कन क्रममा ३ कार्य घण्टा बराबरको लगभग एक वर्ष अवधिको तालिम सञ्चालन गरिएको थियो । साथै सम्पूर्ण क्रियाकलापहरूमा सहभागी प्रत्येक शिक्षकहरूको कार्य प्रगतिलाई उचित पृष्ठपोषण एवम् मूल्याङ्कन गरि चैत १४ गते बुधवारका दिन काठमाडौँ विश्वविद्यालय स्कुल अफ एडुकेशनका सह उपप्राध्यापक डा. हेम राज काफ्लेले उपलब्धि प्रमाणपत्र हस्तान्तरण गरे ।
काफ्लेले शिक्षक समाज परिवर्तनको मूल वाहक रहेकोले शिक्षकद्वारा विद्यार्थी, विद्यार्थीबाट परिवार र परिवारबाट समाज नै प्रगतितर्फ उन्मुख हुन सक्ने बताए । समुदाय प्रतिको उत्तरदायित्व पुरा गर्नु विश्वविद्यालय प्रमुख कर्तव्य हो, यसमा हामी निरन्तर लागि परेका छौँ उनले भने ।
विद्यालयका प्रधानाध्यापक गणेश कुमार दुलालले कार्यशालाबाट शिक्षकहरू लाभान्वित भएका र कक्षा कोठाहरूमा पनि सो वातावरण क्रमिक रूपमा देख्न पाएको कुरा व्यक्त गरे ।



