शिक्षक महासङ्घ गौरादहको अध्यक्षमा गौतम निर्वाचित

गौरादह/२८ फाल्गुन – झापाको गौरादह नगरपालिका अन्तर्गत रहेको नेपाल शिक्षक महासङ्घ गौरादहको अध्यक्षमा लिलानाथ गौतम सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल शिक्षक महासङ्घको दोस्रो नगर अधिबेशन मार्फत श्री सूर्योदय आधारभूत विद्यालय गौरादह ३ का प्र.अ. लिलानाथ गौतम सर्वसम्मत निर्वाचित भएका हुन् ।


नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति झापाको निर्वाचन कार्यदलको सहमति अनुरूप १५ पालिका मध्ये गौरादहको मुख्य नेतृत्वको जिम्मेवारी नेपाल राष्ट्रिय शिक्षक संगठनले पाएको हो ।


नेतृत्वको मुख्य जिम्मेवारी राष्ट्रिय शिक्षक संगठनले पाए सँगै गौतमले अध्यक्षको जिम्मेवारी पाएका हुन ।


गौरादह नगरको २३ सदस्यीय शिक्षक महासङ्घको कार्यसमितिमा राष्ट्रिय शिक्षक संगठन गौरादहको सिफारिस बमोजिम अध्यक्षमा लिलानाथ गौतम सहित सहसचिव ( खुल्ला ) १ संस्थागत सहसचिव १ र ४ सदस्य गरि कुल ७ पद प्राप्त गरेको छ ।
त्यसैगरी नेपाल शिक्षक संघ गौरादहको सिफारिस बमोजिम उपाध्यक्ष (खुल्ला)मा युवराज रेग्मी सहित सचिव १, संस्थागत सहसचिव १ र ३ सदस्य गरि कुल ६ पद प्राप्तगरेको छ ।


त्यसैगरी अखिल नेपाल शिक्षक संगठन गौरादहको सिफारिस बमोजिम महिला उपाध्यक्षमा पवित्रा सिवा नेपाली सहित अर्थ सहसचिव १ , संस्थागत सहसचिव १ र २ सदस्य गरि कुल कुल ५ पद प्राप्तगरेको छ ।


त्यसैगरी कर्मचारी परिषद् गौरादहको सिफारिस बमोजिम सह–अध्यक्षमा हरि ढकाल सहित महिला सहसचिव १ ,संस्थागत सहसचिव १ र २ सदस्य गरि कुल ५ पद प्राप्त गरेको छ ।


नेपाल शिक्षक महासङ्घ गौरादह नगरका निवर्तमान अध्यक्ष बाबुराम भण्डारीको सभापतित्वमा श्री जनता माध्यमिक विद्यालय गौरादह १ को सभाहलमा आयोजित नेपाल शिक्षक महासङ्घ गौरादह समितिको दोस्रो पालिका स्तरीय अधिबेशन एबम घोषणा तथा पद हस्तान्तरण कार्यक्रममा महासङ्घका निवर्तमान अर्थ सचिव याम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा प्रगति मा।बि। का प्र.अ. डिल्लिराम अधिकारी र जनता मा.बि. बालुबथानका प्र.अ.रत्नबहादुर कटुवालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा धन्यवाद मन्तव्य राखेका थिए ।

त्यसैगरी नवनिर्वाचित कार्यसमितिको तर्फबाट मदन आश्रित आधारभूत विद्यालय गौरादह ५ कि शिक्षक अन्जु पोख्रेल तथा नब निर्वाचित अध्यक्ष गौतमले आगामी दिनमा शिक्षकहरूको अधिकार सुनिश्चितका लागि महासङ्घ कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए ।