काठमाडौँ /२३ माघ-गणतन्त्रको स्थापना पछि वैदेशिक अध्ययन सम्बन्धी विषयले रफ्तार लिएपनि बि.सं. २०५५ को हाराहारी देखि शैक्षिक परामर्श केन्द्रहरू क्रमशः खुल्दै गएको पाइन्छ । ५५ साल अघि पनि वैदेशिक अध्ययन सम्बन्धी कार्य त्यस बेला खुलेका कम्प्युटर सेन्टरहरूले गर्ने गर्थे ।
शैक्षिक परामर्श केन्द्रको अवस्था
नेपालमा शैक्षिक परामर्श सेवा प्रदान गर्ने केन्द्रहरूलाई दर्ता, अनुगमन गर्न तत्कालीन शिक्षा मन्त्रालयले २०६८ सालमा पहिलो निर्देशिका जारी गरेको थियो । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रेकर्डमा करिब १४ सय परामर्श केन्द्रहरू दर्ता भएका छन्, त्यसैगरी ७ सय ३५ अनुमतिको पर्खाइमा छन् । बाग्मती प्रदेशको स्वीकृतिमा सञ्चालित ६ सयको हाराहारीमा छन् भनेँ अन्य ३ हजार शैक्षिक परामर्श केन्द्रहरू कम्पनी रजिस्ट्रेसन कार्यालयमा दर्ता भै सञ्चालन भइरहेको अनुमान छ ।
औँलामा गन्न सकिने सङ्ख्याबाट क्रमशः बढ्दै जानुमा मूलतः उचित अवसरको खोजी र आर्थिक हैसियतको पर्यायबाट देखासिकी हुँदै अहिले शैक्षिक बेथितिको कारण, उचित रोजगारीको सम्भावना र भविष्यको सुनिश्चितताका निम्ति विदेशीने विद्यार्थीहरू र आफ्नो छोराछोरीलाई विदेश पठाउने अभिभावकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । विद्यार्थी विदेशीनुमाकोे बढी जिम्मेवार छ भन्ने कुरा पछि चर्चा गरौला तर आजको विषय भनेको शैक्षिक परामर्श केन्द्रलाई दर्ता, अनुगमन एवम् निरीक्षण गर्ने निकाय र त्यससँग सम्बन्धित ऐनसँग रहेको छ ।
विश्वव्यापी शैक्षिक परामर्श सेवा केन्द्र सम्बन्धी नियम
विश्वव्यापी रूपमा शैक्षिक परामर्श केन्द्रहरू के कसरी सञ्चालन भै रहेका छन् भनेर हेर्दा हामीले छिमेकी देशको उदाहरण लिन सक्छौँ । भारतमा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न भा.रु. १ हजार तिरेर कम्पनीमा दर्ता गर्नुपर्छ । पन्जाब बाहेकका प्रान्तमा यसको अनुगमन गर्न कम्पनी ऐन अन्तर्गतको सेवा प्रदान गर्ने कम्पनी सरहको नीति, नियम र कानुनको पालना गर्नु पर्छ । त्यसैगरी अर्को छिमेकी देश चीनमा वैदेशिक शैक्षिक परामर्श केन्द्र सम्बन्धी कडा नियम छ । नयाँ आगन्तुक केन्द्रहरूले सुरुमा उप– इजाजत पत्र अर्थात् पूर्ण इजाजत पत्र लिएकाहरूको मातहत केही अवधिका लागि काम गरे पश्चात् मात्र पूर्ण इजाजत पत्र प्राप्त हुने हुन्छ । इजाजत पत्र केन्द्रीकृत राज्यले गर्ने गर्छ । त्यसैगरी बेलायतमा अध्यागमन परामर्श दिने बाहेकका शैक्षिक परामर्श केन्द्रले कम्पनी मै दर्ता गरे पुग्छ तर लन्डन स्टेटमेन्ट २०१२ मा उल्लेखित अनुशासनलाई कडाइका साथ पालन गर्नु पर्दछ । त्यसैगरी संयुक्त राज्य अमेरिकामा शैक्षिक परामर्श सेवा केन्द्रहरू पनि कम्पनी मै दर्ता भै सञ्चालन भएका छन् । आवश्यकता अनुसार अमेरिकन इन्टरनेशनल रिक्रुटमेन्ट काउन्सिलमा दर्ता हुन सक्छन, यद्यपि यो काउन्सिल सरकारी निकाय नभई स्वतन्त्र अनुगमनकारी निकाय हो ।
यसरी हेर्दा कुनै पनि देशमा सञ्चालित शैक्षिक परामर्श सेवा केन्द्रहरू कम्पनीमा दर्ता भै सकेपछि ती देशका शिक्षा मन्त्रालयमा दर्ता हुनुपर्ने प्रावधान छैन। कम्पनीमा दर्ता भई सेवा प्रदान गर्ने हुँदा राज्यको त्यस क्षेत्रसँग सम्बन्धित हरेक कानून, नियम र सर्तहरू स्वतः आकर्षित हुने हुन्छ । तसर्थ विगतमा शैक्षिक परामर्श सेवा केन्द्रहरू नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेता पनि मूलतः यसले प्रदान गर्ने सेवा यस् देशको पढाइको विषय नभएको, यो देशमा डिग्री प्रदान गर्ने गरि नहुने भएको, यो देशमा दीक्षित हुने कुरा नभएको हुँदा यसलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत नराखी अन्य सेवामूलक व्यवसायका रूपमा रहन दिई सो अनुरूप राज्यको निकाय अन्तर्गत हेर्ने गर्दा मनासिब ठहरिन्छ ।
शैक्षिक परामर्श केन्द्रको अनुगमन – कि बर्तमान संरचना, कि छुट्टै ऐनको व्यवस्था
सेवा व्यवसायलाई हेर्ने निकाय कम्पनी रजिस्ट्रेसन कार्यालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उपभोक्ता अधिकार ऐन, मुलुकमा रहेका अनेकन निकाय (प्रहरी, राजस्व अनुसन्धान, विभाग, राष्ट्रिय सतर्कता केन्द्र, आन्तरिक राजस्व कार्यालय, नगरपालिका लगायत) ले यो क्षेत्रलाई अनुगमन र नियमन गर्न सक्दछन् । त्यसमा पनि अन्य शैक्षिक क्षेत्र ऐन नै बनाउन सके भाषा शिक्षण, परामर्श, कोचिङ, तयारी कक्षा, कम्प्युटर सेन्टर लगायतका कतिपय शैक्षिक गतिविधिका केन्द्रहरू राज्यको मातहतमा आउन सक्छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव : कहीँ नभाको जात्रा
हालसालै नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको उच्च शिक्षा विधेयकमा, उच्च शिक्षा आयोगले हेर्नेगरी प्रस्ताव गर्नु कहीँ नभाको जात्रा हाँडी गाउँमा भन्ने पुरानो उखानलाई चरितार्थ गर्ने खालको छ । एक त विश्वमा कहीँ पनि शैक्षिक परामर्श सेवा केन्द्रहरू शिक्षा मन्त्रालय अन्तर्गत छैनन् त्यसमा पनि विश्वविद्यालयहरू अनुगमन गर्नु पर्ने निकायमा शैक्षिक परामर्श सेवा केन्द्रहरू राखिनु प्रस्तावित उच्च शिक्षा आयोगको मान मर्दन हुने विषय हो ।
शैक्षिक परामर्श सेवा केन्द्रहरू वैदेशिक अध्ययनका लागि विश्व विद्यालयका सूचना एवम् सहजीकरण इकाई मात्र हुन, त्यहाँ भन्दा बढि केही हैनन् । वर्तमान परिवेशले केही केन्द्रहरू नेपालका कलेज जत्रै भए होलान् त्यो बेग्लै कुरा हो तर शैक्षिक परामर्श सेवा केन्द्रहरू विश्व विद्यालयका सोधपुछ तथा जानकारी केन्द्र हुन, ती केन्द्रलाई नियमन गर्ने निकाय शिक्षा मन्त्रालय र ऐनमा उल्लेख भएको उच्च शिक्षा आयोगले हेर्ने गराउनु सर्वथा अनुचित हुनेछ ।
प्रस्तावित उच्च शिक्षा ऐनमा अर्को विषय पनि छ, त्यो हो, धरौटीको व्यवस्था । नेपालमा अचेल एउटा सूत्र सबैमा लागु गर्न खिजिन्छ त्यो हो, धरौटी । स्कुल खोल्न – धरौटी, कलेज – खोल्न धरौटी, म्यानपावर – खोल्न धरौटी र अब शैक्षिक परामर्श सेवा केन्द्रहरू खोल्न पनि धरौटी राख्नुपर्ने विषय उठेको छ । सबैभन्दा पहिला ती तमाम क्षेत्र जसमा धरौटी राख्नु पर्ने कारण र त्यसबाट प्राप्त सकारात्मक उपलब्धि के के भए, निराकरण के के भयो त्यसको समीक्षा हुनु जरुरी छ। त्यसैगरी प्रत्येक क्षेत्रको आ आफ्नै विशेषता हुन्छ भन्ने कुरालाई मनन् गरेर मात्र त्यस्तो व्यवस्था गर्दा उचित हुनुहुन्छ ।
हरेक व्यवसायलाई गुणस्तरीय बनाउने हतियार धरौटी हैन, कमसेकम शैक्षिक परामर्श व्यवसाय, परामर्श विज्ञ र बौद्धिक व्यवसायमा त धरौटी भन्दा प्रतिबद्धता, लगनशीलताको कसीमा हेर्नुपर्ने क्षेत्र हो । यो क्षेत्रमा नैतिक व्यावसायिक अवधारणाको आधारमा व्यवसाय गर्न सक्ने बस्ने, अन्य नटिक्ने नीति नियम बनाउन उन्मुख हुनुपर्छ ।
शैक्षिक परामर्श सेवा केन्द्रहरूमा धरौटी राख्नु नपर्ने कारणहरू
१. शैक्षिक परामर्श व्यवसाय विशुद्ध सेवा व्यवसाय हो, यसमा विद्यार्थीहरूलाई देश, कलेज विश्वविद्यालयमा पढाई हुने विषय, भर्ना प्रक्रिया, योग्यता मापदण्ड को कुरा गरिन्छ ।
२. शैक्षिक परामर्श व्यवसायमा ऐच्छिक रूपमा सहजीकरण शुल्क लिइन्छ ।
३. कलेज/ विश्वविद्यालयको फी/इन्स्योरेन्स लगायतका फी विद्यार्थीको अभिभावकले आफ्नो खाता बाट कलेज को खातामा तिर्छन् ।
४. शैक्षिक परामर्श व्यवसायमा विश्वमा कहि पनि धरौटीको प्रावधान छैन ।
५. शैक्षिक परामर्श व्यवसायमा धरौटीको प्रावधान ले गलत कार्य गर्न प्रेरित गर्छ किनकि व्यवसायी ले धरौटी को व्यवस्था पन बापत लागेको शुल्क विद्यार्थीबाट उठाउन सक्छ ।
६. गलत कार्य गर्नेका लागि हामीले राज्यलाई धरौटी राखेका छौँ भन्दै विद्यार्थीहरूसँग नगद कारोबार गर्न सक्छन् ।
७. राज्यले धरौटीलाई विद्यार्थीहरूको कलेज फी को सुरक्षण रूपमा गर्न खोजेको हो भने ट्युसन फी इन्स्योरेन्सको अवधारणा अवलम्बन गर्नु पर्छ ।
अन्तमा
नेपाल बाट वर्षेनी पढ्न कति बाहिर गए भन्नु भन्दा यहाँ पढ्न बसेकालाई कसरी सन्तुष्ट बनाउने भन्ने प्राथमिकता पहिलो हुनुपर्ने देखिन्छ भनें नेपालमा पनि वर्षेनी चिकित्सा शास्त्र, वनस्पति शास्त्र, पर्वतीय अध्यायन, बुद्ध अध्ययन लगायतका विषयमा विदेशी विद्यार्थी भित्र्याउन सकिने प्रचुर सम्भावनालाई उपभोग गर्न शैक्षिक परामर्श सेवा केन्द्रहरूलाई पनि संलग्न गराउन ढिलो नगरौँ । शैक्षिक परामर्श सेवा केन्द्रहरू यो देशको मुहार फेर्न आर्थिक क्रान्तिका संवाहक बन्न तयार छन् ।
(लेखक सन्तोष प्याकुरेल राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)का अध्यक्ष हुन् ।)



