नेका र फेकनको शिक्षा मन्त्रालयलाई सुझाब : धरौटी स्वीकार्य छैन

काठमाडौँ /२२ माघ – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) र स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)ले धरौटीको व्यवस्था हटाउन शिक्षा मन्त्रालयलाई सुझाब दिएका छन् । उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा सम्बन्धी मागिएको सुझाबमा उनीहरूले सो सुझाब दिएका हुन् ।


स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले आइतवार शिक्षामन्त्री, शिक्षा राज्य मन्त्री, शिक्षा सचिव लगायतलाई उच्च शिक्षा विधेयकको मस्यौदा सम्बन्धी सुझाब पत्र बुझाउँदै धरौटी, एनओसी लगायत समस्याका विषयमा ध्यानाकर्षण गराएको छ । सुझाव पत्रमा शैक्षिक परामर्श संस्थाहरूलाई धरौटी आवश्यक नभएको भन्दै उक्त दफा सच्याउनु पर्ने उल्लेख गरेको छ ।

शिक्षामन्त्रीलाई सुझाब पत्र बुझाउँदै फेकन ।


त्यसैगरी राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले दफा ७० को उपदफा (५) को “आयोगले तोकिए बमोजिम धरौटी राख्न” भन्ने वाक्यांश हटाउनुपर्ने सुझाब मन्त्रालयलाई दिएको छ । शैक्षिक परामर्शदाता संस्था म्यानपवरको स्वरूप नभएको यस्ता संस्थाहरूले कुनै किसिमको ग्यारेन्टी दिएर कुनै वैदेशिक रोजगारीमा नपठाउने र सेवाग्राहीहरूलाई प्रलोभनमा पारेर झुक्याई कुनै पनि खालको नगद कारोबार नगर्ने भन्दै धरौटीको व्यवस्था हटाउन सुझाब दिएको हो ।


परामर्श शुल्क वापत लिइने रकम विद्यार्थीले सम्बन्धित विद्यालयमा अध्ययन गर्नको लागि भिसा प्राप्त गरेपछि सेवाग्राहीसँगको सहमतिमा लिने दिने हुनुको साथै उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीले विद्यालयसँग सोझै सम्पर्क गरी वा विद्यालयको वेबसाइटमा विद्यालयको शैक्षिक शुल्क बारे हेरे बुझेर सम्बन्धित विद्यालयको बैँक खातामा विद्यार्थी आफैँले लाग्ने शुल्क जम्मा गरी जान सक्ने र उच्च शिक्षा हासिल गर्न जाने सेवाग्राही शिक्षित र सुसूचित हुने भएको समेत कारणले विद्यार्थी तथा सेवाग्राही ठगिने सम्भावना न्यून भएकोले र अपवाद स्वरूप कसैले गलत कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्न सकिने नै हुँदा उक्त वाक्यांश राख्नुको औचित्य छैन सुझाब पत्रमा भनिएको छ ।

मन्त्रालयमा सुझाब पत्र बुझाएपछि नेकाको टिम ।


साथै उक्त वाक्यांशले ठूलो सङ्ख्यामा यो ऐन लागु हुनुभन्दा पहिले प्रचलित शिक्षा ऐन तथा छात्रवृत्ति ऐन र निर्देशिका बमोजिम अनुमति लिई सञ्चालनमा रहेका शैक्षिक परामर्शदातृ संस्थाहरूलाई हानी नोक्सानी भई नयाँ व्यवसायीहरूलाई समेत अत्यास लाग्दो अवस्था सृजना हुने हुँदा “आयोगले तोकिए बमोजिम धरौटी राख्नु पर्ने” भन्ने वाक्यांश हटाउनुपर्ने माग गरेको छ ।


हेर्नुहोस नेकाले बुझाएको सुझाब पत्र :

उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदाको सम्बन्धमा राष्ट्रिय शैक्षिक परामर्श संघ ९नेका०को तर्फबाट विधेयकमा गर्नु पर्ने संशोधन र सुझाबहरू शैक्षिक परामर्श व्यवसायलाई मर्यादित सुव्यवस्थित र उन्नतिशील बनाउँदै शिक्षाका माध्यमबाट राष्ट्रलाई विश्वस्तरमा चिनाउने र समृद्ध राष्ट्र बनाउने दिशामा सधैँ अग्रणी भूमिका निर्वाह गर्ने मूलमन्त्रलाई अच्क्षूण राख्दै शिक्षा क्षेत्रसँग सरोकार राख्ने परामर्शदातृ संस्थालाई एकताबद्ध गर्दै अघि बढ्ने मूल धेयका साथ स्थापना भएको राष्ट्रिय शैक्षिक परामर्श संघ एक गैर नाफामूलक परामर्श दातृहरूको संस्था हो । यस परामर्श संघको मुख्य उद्देश्य सबै शैक्षिक परामर्श व्यवसायीहरूका हक हितका साथै स्तरोन्नति गर्दै विद्यार्थी र अभिभावकहरूलाई समेत सुसूचित गर्दै उच्च शिक्षा अध्ययनार्थ आवश्यक पर्ने परामर्शलाई गुणकारी बनाई सकारात्मक परिवर्तनका साथ व्यवसायीकरण गर्ने रहेको छ । त्यसैगरी शैक्षिक परामर्शसँग प्रत्यक्ष÷परोक्ष सरोकार राख्ने सबै पक्षसँगको सम्बन्धलाई घनीभूत बनाउँदै सहजिकरण गर्ने कार्यमा स्थापना देखिनै निरन्तर हातेमालो गर्दै आईरहेको र आगामी दिनहरूमा पनि यस संघ अग्रणी परामर्श संघको रूपमा आफूलाई अब्बल साबित गर्न अघि बढीरहने संस्था हो राष्ट्रिय शैक्षिक परामर्श संघ ।


हाल प्रारम्भिक मस्यौदाको अवस्थामा रहेको उल्लेखित विधेयकमा भएका प्रावधानले शैक्षिक परामर्शदाताहरूले आफ्नो सेवा सञ्चालनमा पर्ने र पर्न सक्ने असहजता र असरका सम्बन्धमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भई उक्त उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदाको सम्बन्धमा यस संस्थाको तर्फबाट निम्न कारण र आधार खोली उक्त विधेयकमा भएका प्रावधान हटाउन वा संशोधन गर्न अनुरोध सहितको सुझाव बुँदागत रूपमा निम्न बमोजिम अनुरोध गर्दछौँ ।


१. मस्यौदाको शीर्षक र प्रस्तावनामा शैक्षिक परामर्श सेवा थप गर्नुपर्ने । प्रस्तावित मस्यौदाको शीर्षकमा उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भनिएकोमा प्रस्तावनामा उच्च शिक्षाकै अभिन्न अंगको रूपमा रहेको ठूलो क्षेत्र शैक्षिक परामर्श सेवाको क्षेत्रलाई नसमेटिएको र आधुनिक विश्वव्यापी मान्यता प्राप्त डिग्री लिन परामर्श सेवा दिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त परामर्शदाताहरूको अवमूल्यन भएको हुँदा उच्च शिक्षा अध्ययनमा गुणस्तरीय मार्गदर्शन दिन उल्लेखित विधेयको शीर्षकमा उच्च शिक्षा र शैक्षिक परामर्श सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भनी संशोधन गर्न अनिवार्य छ ।


२. प्रस्तावित विधेयकको दफा ५० र दफा ५२ मा को व्यवस्थामा निम्न बमोजिम संशोधन गर्नुपर्ने । प्रस्तावित मस्यौदाको दफा ५० मा आयोगको स्थापनामा शैक्षिक परामर्श सेवा क्षेत्रको कुनै प्रतिनिधित्व नराखिएको हुँदा उच्च शिक्षा सो आयोगमा कम्तीमा ३ जना शैक्षिक परामर्श क्षेत्रका प्रतिनिधिहरू सदस्य चयन हुने व्यवस्था गर्नु पर्दछ भने प्रस्तावित मस्यौदाको दफा ५२ मा आयोगको काम कर्तव्य र अधिकारमा शैक्षिक परामर्शसँग सम्बन्धीत विषय कही कतै उल्लेख नभएको हुँदा शैक्षिक परामर्श सेवा क्षेत्रका कुराहरू पनि समावेश गरिनु पर्दछ ।


३. प्रस्तावित मस्यौदाको परिच्छेद १४ का अर्न्तगत दफाहरूमा निम्न बमोजिम संशोधन अनिवार्य रहेको छ ।
क) दफा ७० अनुमति लिनुपर्ने : प्रस्तावित मस्यौदाको दफा ७० को उपदफा १ मा विदेशमा अध्ययन अध्यापन लक्षित तयारी कक्षा वा भाषा शिक्षण कक्षा सञ्चालन गर्न चाहने संस्थाले आयोगबाट अनुमति लिनुपर्नेछ भन्ने व्यवस्था भएको र सोही दफाको उपदफा ३ मा शैक्षिक परामर्श सेवा सञ्चालन गर्न चाहने संस्थाले भनी उल्लेख भएकोमा सबै सेवा दिईरहेका पुराना संस्थाहरूलाई समेत फरक फरक संस्थाको आवश्यकता पर्ने अवस्था जनिएको हुँदा एउटै संस्था दुवैमा आवश्यक मापदण्डमा रहेर स्वीकृति लिन पाउने व्यवस्था गरिनु पर्दछ । अतः प्रस्तावित मस्यौदाको दफा ७० को उपदफा ३ लाई हटाई उक्त कुरा उपदफा १ मै समावेश गरिनु मनासिब छ ।


ख) दफा ७० को उपदफा (५) को “आयोगले तोकिए बमोजिम धरौटी राख्न” भन्ने वाक्यांश हटाउनुपर्ने : शैक्षिक परामर्शदाता संस्था म्यानपवरको स्वरूप नभएको यस्ता संस्थाहरूले कुनै किसिमको ग्यारेन्टी दिएर कुनै वैदेशिक रोजगारीमा नपठाउने र सेवाग्राहीहरूलाई प्रलोभनमा पारेर झुक्याई कुनै पनि खालको नगद कारोबार नगर्ने साथै परामर्श शुल्क वापत लिइने रकम विद्यार्थीले सम्बन्धित विद्यालयमा अध्ययन गर्नको लागि भिसा प्राप्त गरेपछि सेवाग्राहीसँगको सहमतिमा लिने दिने हुनुको साथै उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीले विद्यालयसँग सोझै सम्पर्क गरी वा विद्यालयको वेबसाइटमा विद्यालयको शैक्षिक शुल्क बारे हेरे बुझेर सम्बन्धित विद्यालयको बैँक खातामा विद्यार्थी आफैँले लाग्ने शुल्क जम्मा गरी जान सक्ने र उच्च शिक्षा हासिल गर्न जाने सेवाग्राही शिक्षित र सुसूचित हुने भएको समेत कारणले विद्यार्थी तथा सेवाग्राही ठगिने सम्भावना न्यून भएकोले र अपवाद स्वरूप कसैले गलत कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही गर्न सकिने नै हुँदा उक्त वाक्यांश राख्नुको औचित्य छैन । यो वाक्याशंले ठूलो संख्यामा यो ऐन लागु हुनुभन्दा पहिले प्रचलित शिक्षा ऐन तथा छात्रवृति ऐन र निर्देशिका बमोजिम अनुमति लिई सञ्चालनमा रहेका शैक्षिक परामर्शदातृ संस्थाहरुलाई हानी नोक्सानी भई नयाँ ब्यवशायीहरुलाई समेत अत्यास लाग्दो अवस्था सृजना हुनेहुँदा “आयोगले तोकिए बमोजिम धरौटी राख्न” भन्ने वाक्यांश हटाउनुपर्ने कुरामा संघ जोडदार माग गर्दछ ।


४. प्रस्तावित मस्यौदामा छुटेका र समेट्न सकिने थप सुझावहरू : शैक्षिक परामर्श दातृ संस्थाको रूपमा दर्ता भई मन्त्रालयमा स्वीकृति लिएका वा नलिई काम गरि रहेका कम्पनीहरूलाई नियमन गरे जस्तै अन्य शैक्षिक सेवा प्रदान गरि रहेका ट्यूसन, कोचिङ्ग, भाषा शिक्षण विभिन्न प्रकारका पूर्व तयारी कक्षाहरू, कम्प्युटर तालिम, भाषण कला, उद्घोषण जस्ता तालिमहरू समेत सञ्चालन गर्ने यस्ता अन्य शैक्षिक गतिविधिहरू गर्ने क्षेत्रहरूलाई समेत मन्त्रालयको दायरामा ल्याई मन्त्रालयले शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा वा अन्य उपयुक्त छुटै विभागको रूपमा खडा गरी योक्षेत्रलाई समेट्न सकेमा मन्त्रालयको भूमिका प्रभावकारी हुने शैक्षिक परामर्श लगायत देशको शिक्षा एवं प्रविधिको क्षेत्र गुणस्तरीय हुँदै जाने कुरामा हाम्रो संघ आशावादी रहेको हुँदा उल्लेखित अनुरोधलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्दछौँ ।


५. नेपाल सरकारले जारी गरेको शिक्षा नीति २०७६ का सकारात्मक नीतिहरू मध्ये शैक्षिक परामर्श क्षेत्रलाई संबोधन गरिएका र केही गर्नु पर्ने सुझावहरू :

क) नीति १०.२० मा उल्लेखित उच्च शिक्षाका कार्यक्रमहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि आर्कषित हुने गरी गुणस्तर र अध्ययन विधि तय गरी नेपालका उच्च शिक्षाका कार्यक्रमहरू अन्तर्राष्ट्रियकरण गर्ने गरी नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थी आउने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न नेपालमा स्थापित, सक्षम शैक्षिक परामर्शदातृ संस्थाहरूलाई त्यस्ता विद्यार्थीहरू भित्र्याउन प्रोत्साहन गर्ने व्यवस्था थप गर्नु पर्ने देखिन्छ ।


ख) शिक्षा नीतिको उद्देश्य अनुरूप नेपालको जैविक विविधता, प्राकृतिक एवं भौगोलिक विविधता, प्राणी, वनस्पति तथा वातावरणका साथै उच्च हिमाली क्षेत्रलाई पर्वतीय अध्ययन केन्द्रको रूपमा अध्ययन र अनुसन्धान गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थी एवं अनुसन्धान कर्ताहरूलाई आकर्षण गर्न सो को प्रचार प्रसार गर्न नेपालबाट उच्च शिक्षा अध्ययन गर्न विभिन्न विश्व विद्यालयमा गएका नेपाली विद्यार्थीहरूलाई समेत प्रोत्साहन गरी नेपालमा शैक्षिक आम्दानीको स्रोतका रूपमा विकास गर्न शैक्षिक परामर्श दातृ संस्थाहरूलाई साथ लिई काम गर्नुपर्ने देखिन्छ ।