विद्यालय शिक्षा विधेयक बारे फागुनमा प्रतिवेदन बनाएर पेस गर्ने तयारीमा छौँ : जोशी

काठमाडौँ /१६ माघ – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षा विधेयकबारे फागुन महिना भित्र छलफल सकेर प्रतिवेदन बनाउने तयारी गरिरहेको बताएका छन् । सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गरी फागुन भित्र छलफल सकेर प्रतिवेदन बनाउने तयारी गरिरहेको बताएका हुन् ।


उनले खबर एजुकेशनसँग कुरा गर्दै अहिलेपनि विभिन्न निकायहरूसँग छलफलमै रहेको र फागुन महिनाभित्र सकेर प्रतिवेदन बनाई संसदमा पेस गर्ने तयारी भइरहेको बताए । उनले भने “निरन्तर छलफल गर्दा फागुन भित्र छलफल सकेर प्रतिवेदन बनाउन पाए हुन्थ्यो भन्ने चाहानामा छौँ । अबको हिउँदे अधिवेशन माघ २२ गते सुरु भएर चैतसम्म रहेछ भने हामीले फागुनको महिनासम्म प्रतिवेदन बनाउने तहमा जने एक खालको गृहकार्य गरेका छौँ । साथै विधेयकको विषयमा कतिपय राजनीतिक दलहरूसँग सहमति गर्नुपर्ने अवस्था छ । त्यसकारण फागुनको महिना भित्र प्रतिवेदन तयार गर्ने र संसदमा पेस गर्ने तहमा जान्छौँ ।”


जोशीले मुख्य हिस्सेदारका रूपमा रहेका स्थानीय पालिकाहरू, नेपाल शिक्षक महासङ्घसहित घटक संगठनहरू, शिक्षा क्षेत्रमा अभियान चलाएका र सामुदायिक विद्यालयका सन्दर्भमा धेरै अध्ययन गरेका लगायत सबैसँग एक महिना लगाएर छलफल गरेर सुझाब लिएको बताए ।


माघ महिनाको अन्तिममा प्रदेश सरकार र प्रदेशमा विद्यालय सम्बन्धी सरोकार राख्ने व्यक्तिहरूसँग, त्यसपछि सातै प्रदेशमा राम्रो गरेका सामुदायिक तथा नमुना विद्यालयको नमुना अध्ययन, कमजोर विद्यालयको पनि नमुना अध्ययन गरेर संशोधनका लागि आवेदन हालेका सांसदहरूसँग दफावार छलफल गर्ने तयारीमा रहेको उनले बताए । सांसदहरूसँग पहिलो चरणको दफावार छलफल गरिसकेपछि पुन समितिमा बसेर दफावार छलफल गरेर अगाडी बढ्ने जोशीको भनाई छ ।

पुनर लेखनको सम्भावना कति ?


जोशीले ५२ सालपछि शिक्षा विधेयक आएकोले असहमति कुराहरूमा बुँदागत छलफल गरेर भएपनि यसलाई टुङ्गो लगाउनु पर्ने बताएका छन् । अहिले आएको विधेयक पनि छलफल गरेर टुङ्गाएर नगए अर्को पुनर लेखनको बाटो गए फेरी विधेयक नआउने सम्भावना भएकोले यसलाई अगाडी बढाउनुपर्ने उनको भनाई छ ।


“२०२८ सालपछि करिब ५२ वर्षमा विद्यालय शिक्षा विधेयक आएको छ । २०४५ मा उच्च माध्यमिक अवधारणा आयो र ४९ सालदेखि सञ्चालनमा रहेका विद्यालयहरू वा त्यस वेला नियुक्ति भएका शिक्षकहरूमा स्थायित्व नभएको अवस्थामा अहिले विधेयक आएको छ । अहिले आएको विधेयक पनि छलफल गरेर टुङ्गाएर नगए अर्को पुनर लेखनको बाटो जानु भनेको फेरी विधेयक नआउने सम्भावना भएको हुनाले त्यो सम्भावना कम छ” उनले भने ।


“विधेयकका मुख्य बुँदाका पाटाहरूको बारेमा बहस छलफल गर्नुपर्ने बताएका छन् । स्थानीय तह र संघको बारेमा, विद्यालयको संरचनाका बारेमा, पाठ्यक्रमका बारेमा, परीक्षा प्रणालीका बारेमा, अहिलेसम्म भएका २१ प्रकारका शिक्षकहरूलाई व्यवस्थापन गर्न शिक्षा मन्त्रालय, कानुन मन्त्रालय, अर्थ मन्त्रालयसँग सहमतिका विषयमा, शिक्षक संगठनहरूका सवालमा बुँदागत छलफल गर्न सकिन्छ । यसलाई महत्वपूर्ण बुँदामा छलफल गरेर टुङ्गो लगाउनु पर्छ अन्यथा अरू बाटोबाट जान हुँदैन जस्तो मलाई लाग्छ” जोशीले भने ।