काठमाडौँ /१६ माघ – शिक्षाविद्हरूले दक्ष शिक्षक निर्माणमा सरकारले योजना बनाउन आवश्यक रहेको सुझाब दिएका छन् । विद्यालय तहमा शिक्षकहरूको अभाव हुन थालेको बताउँदै शिक्षक तयारीमा सरकार लाग्नु पर्ने सुझाब दिएका हुन् ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले सोमवार आयोजना गरेको कार्यक्रममा शिक्षाविद्हरूले शिक्षा मन्त्रालय र नीति निर्माताहरूलाई दक्ष शिक्षक उत्पादनका लागि योजना बनाउनु पर्ने सुझाब दिएका छन् ।
स्कुल अफ एजुकेशनका डीन डा. बालचन्द्र लुईटेलले काठमाडौँ विश्वविद्यालयले शिक्षकहरूलाई आवश्यक पर्ने कार्यक्रमहरू सञ्चालन गर्नुका साथै विभिन्न तालिम सञ्चालन गरिरहेको बताउँदै शिक्षामा रूपान्तरणका लागि दक्ष शिक्षक निर्माणमा राज्य लाग्नु पर्ने बताए । उनले शिक्षकहरूमा समेत वर्ग विभाजन हुने गरेको, कामगरी रहेको विद्यालय छोडेर अर्को विद्यालय जान नमान्ने गरेको बताउँदै यसलाई समेत व्यवस्थापन गर्न आवश्यक रहेको सुझाब दिए । साथै सामुदायिक विद्यालयमा सही व्यवस्थापन हुँदा ४० प्रतिशत विद्यालय लयमा आएको र यसका लागि विद्यालय व्यवस्थापन राम्रो हुनुपर्नेमा जोड् दिए ।
शिक्षाविद् डा. मन प्रसाद वाग्लेको शिक्षक तयारीका लागि ऐनमा नै व्यवस्था गर्नुपर्ने र शिक्षकलाई रिफर्म नगरी ट्रान्सफर्म गर्नुपर्ने भनाई थियो । उनले शिक्षक तयारीका लागि सरकारले विश्वविद्यालयसँग समन्वय गर्नुपर्ने र यसबारे बन्दै गरेको उच्च शिक्षा सम्बन्धी विधेयकमा कतै उल्लेख नभएकोले समावेश गर्नुपर्ने सुझाब दिए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षक अभाव हुँदा शिक्षा संकायमा नपढेकालाई पनि शिक्षक बनाउनुपर्ने अवस्था आईसकेको बताउँदै यो आउनुका कारण खोजेर शिक्षक तयारीमा लाग्नुपर्ने बताए । शर्माले शिक्षक सेवा आयोगले निर्माण गरेको पाठ्यक्रमसँग विश्वविद्यालयको पाठ्यक्रम पनि जोड्नुपर्ने भनाई राखे । साथै शिक्षक कक्षा कोठामा पढाउन जानुभन्दा पहिला शिक्षकलाई तयारी गराएर पठाउनुपर्ने सुझाब दिए ।
शिक्षाविद् डा. धनपति सुवेदीले शिक्षकको अभाव भइरहेको र दशौ पटकसम्म पनि विज्ञापन गर्दा शिक्षक नपाईने, शिक्षक सेवा आयोगले पदपूर्तिका लागि आवेदन माग्दा पनि कोटा नभरिने भनाई राख्दै शिक्षक बैँकको अवधारणामा अगाडि बढ्नुपर्नेमा जोड् दिए ।
त्यसैगरी शिक्षाविद् मेदीन लामिछानेले सरकार र विश्वविद्यालयबिच समन्वय नहुँदा समस्या आएको भनाई राखे । उनले संस्थागत विद्यालयहरूले शिक्षकको तयारी आफै गरेको बताउँदै सामुदायिक विद्यालयका लागि विश्वविद्यालयसँग समन्वय गरी शिक्षकको तयारी गर्नुपर्ने आवश्यक रहेको सुझाब दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनालले अहिलेको व्यवस्थाले शिक्षकहरूलाई तहमा विभाजन गरेको भन्दै तहलाई हटाएर सबै शिक्षक समान बनाउनुपर्ने व्यवस्था लागु गर्न आवश्यक रहेको बताए । उनले आफू कार्यान्वयन गर्ने कुनै निकायमा नरहेको र शिक्षाविद्हरूले दिएको सुझाब सरकारसँग राख्ने प्रतिबद्धता गर्दै शिक्षक तयारीका लागि विश्वविद्यालय र मन्त्रालयको समन्वय हुन आवश्यक रहेको भनाई राखे । खनालले शिक्षण पेशामा आकर्षण घट्दै गइरहेको बताउँदै समुदायबाट नै काम गर्नुपर्ने र शिक्षक अभावको समस्यालाई घटाउँदै लैजानुपर्नेमा जोड् दिए ।



